मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीबार मनोनयन दर्ता

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिकाअनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने तय भएको बताए। उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने बताए।

उपसचिव भुसालले बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने बताए। उनले कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेदवारलाई निर्वाचन चिह्न दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *