कपिलवस्तु–३ मा चौथोपटक जितको खोजीमा कांग्रेसका शाह

सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने क्षेत्रमध्ये एक हो, कपिलवस्तु–३ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार छन्, सदावहार विजेता अभिषेकप्रताप शाह । कांग्रेसका शाह यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन् । उनी २०६४ र २०७० सालमा संघीय समाजवादीबाट, २०७४ मा नेपाली कांग्रेसबाट र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन् । २०७४ को निर्वाचनमा शाहले २० हजार मत ल्याएका थिए । प्रतिस्पर्धीलाई ५ हजार मतान्तरले जितेका थिए ।

यस क्षेत्रमा शाहको पुरानै प्रतिस्पर्धी छन्, मंगलप्रसाद गुप्ता । हाल एमालेका उम्मेदवार गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन् । गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन् ।

शाह परिवारको पुरानो विरासत
कपिलवस्तुमा शाह परिवारको पुरानो विरासत छ । देशमा प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै लोकतन्त्र, गणतन्त्रसम्म पनि शाह परिवारको कुनै न कुनै तरिकाबाट राजनीतिमा आबद्ध छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा दशकौंदेखि बसोबास गर्दै आएका शाह परिवार विभिन्न माध्यमबाट राजनीति र जनतासँग जोडिएको छ ।

त्यसैले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा शाह बलियो प्रत्यासीको रुपमा देखिएका छन् । उनी यस क्षेत्रको विकास हुनेगरी नीति निर्माणमा जोड दिने बताउँछन् ।

‘संसदीय व्यवस्थामा सांसदको मुख्य कामको नीति निर्माण गर्नु । भोलि म संसदमा नहुँदा तर मेरो ठाउँको विकास हुनेगरी नीति निर्माण गर्नु मेरो कर्तव्य हुन्छ । तसर्थ संसदमा हुने नीति निर्माणको कार्यमा अग्रसर भई देश र यहाँका जनताको भलो हुने नीति निर्माण मेरो प्रमुख कार्य हुनेछ,’ उनले भने, ‘यस्तो नीतिमा शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, उद्योग, कारखाना, लघु उद्यम, डिजिटलाइजेसन जस्ता कुराले प्रमुखता पाउनेछन् ।’

यस्तो छ चुनावी समीकरण
शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा सभासद बनेका थिए । त्यसयता निरन्तर सांसद भएकाले पनि यसपटक पनि उनकै पल्लाभारी हुने देखिएको छ । यसपटक त उनलाई गठबन्धनका अन्य दलहरुको पनि सहयोग छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा दोस्रो भएका गुप्ता हालै एमाले प्रवेश गरेका हुन् । जसापका केन्द्रीय सदस्य रहेका उनी यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए ।
त्यतिबेला एमालेले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वरदयाल मिश्रलाई समर्थन गरेको थियो । उनी तेस्रो नम्बरमा रहेका थिए । यसपटक गुप्तालाई एमालेको पनि समर्थन हुने भएकाले कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

केके छन् मुद्दा ?
कपिलवस्तु–३ मा सिँचाइ, यातायात, पूर्वाधार र सुकुम्बासी बस्तीका समस्या प्रमुख हुन् । त्यसैले अधिकांश उम्मेदवारले यिनै एजेन्डालाई अघि सार्दै भोट माग्दै आएका छन् । सत्ता गठबन्धनका उम्मेदवार शाह विगतमा आफूले गरेको कामले पनि पुनः जित हुने बताउँछन् । उनले गठबन्धनलाई निर्वाचनमा जिताए यस क्षेत्रले मन्त्री पाउने बताए ।

सुख्खा क्षेत्र भएको कारण सिँचाइको व्यवस्थापन गर्न नौमुरे सिँचाइ योजनालाई सञ्चालन गर्न ठूलो रकमको आवश्यकता पर्ने र सांसदले मात्रै ठूलो बजेट ल्याउन नसक्ने हुनाले यसपटक आफू मन्त्री हुने र नौमुरे सिँचाइलाई सम्पन्न गर्ने प्रतिबद्धता शाहले गरेका छन् ।

उनले चोर खोलाका नागरिकका लाडि विद्युत्, सुकुम्बासी र भूमिहीनलाई लालपूर्जा बाँडिने पनि जनाए । ‘संविधानको रक्षा र समृद्ध नेपाल निर्माणका लागि यो गठबन्धन भएका कारण अब ५ वर्ष सम्म गठबन्धनको सरकार रहने र गठबन्धनको सरकारले मात्रै विकास संम्भव हुने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनुहोस्,’ शाहले आग्रह गरेका छन् ।

‘मेरो जित सुनिश्चित छ,जनताको अपार सहयोग र साथ पाएको छु शाहले भने, ‘मेरो प्रतिस्पर्धा कसै सँग छैन, मलाई जनताले जिताउँछन्,।’ जनताले काम गर्ने उम्मेदवारलाई जिताउने बताउँदै शाहले हरेक वडाका समस्या समाधानको लागि एउटा समूह निर्माण गर्ने बताए । सबै पार्टी भित्र समस्या हुने गरेको भए पनि निर्वाचनमा पार्टी प्रति सबै नेता कार्यकर्ता बफदार रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *