नेवि संघले सफा गर्याे मालिकार्जुन मन्दिर परिसर
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दार्चुलाले मालिकार्जुन मन्दिर परिसरमा सरसफाइ गरेको छ।
राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिरमा सोमबार राति लागेको जात्राका कारण मन्दिर परिसरमा जम्मा भएको फोहोर नेवि संघले मंगलबार बिहान सरसफाइ गरेको हो।
नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव एवं दार्चुला क्षेत्र नम्बर १ का संयोजक एकेन्द्रसिंह धामीको अगुवाइमा मंगलबार बिहान जात्रा सकिएसँगै मन्दिर परिसर सरसफाइ गरिएको हो।
‘सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधि हुन्। यसकाे संरक्षण गर्नु सबैको दायित्व हो,’ धामीले भने, ‘मालिकार्जुन मन्दिरमा लागेको जात्रामा दर्शनालु भक्तजनहरूबाट भएको फोहोरलाई उठाएर नष्ट गरेका हौं।’
मन्दिर परिसरको सरसफाइमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्रसिंह धामी, नेवि संघका क्रियाशील नेता विनोदराज जोशी, नेवि संघ मार्मा गाउँपालिका संयोजक हिम्मतसिंह धामी, मालिकार्जुन गाउँपालिका संयोजक धमेन्द्र जोशी, कृष्ण माध्यमिक विद्यालय डाँडाकोटका इकाइ समिति अध्यक्ष जीवन कोली र मालिकार्जुन प्रहरी चौकीबाट खटिएका १५ जना म्यादी प्रहरीको सहभागिता रहेको थियो।
प्रतिक्रिया