मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक बढे, होटलहरू भरिभराउ

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ ।

मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो ।

यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरूमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् । मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटकको संख्या बढेसँगै मुस्ताङका होटलहरूमा विदेशी र आन्तरिक पर्यटनकहरूको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरूले विशेषगरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको बताए । सामान्यतया दशैं–तिहारपछि मुस्ताङका होटलहरूको अकुपेन्सी दर ८० प्रतिशतभन्दा माथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरूले बताए । इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटकहरूले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरू भरिएको बताए ।

उनले नेपाली र भारतीय पर्यटकले होटलहरू फुल अकुपेन्सी चलेको बताए । सञ्चालक तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैंपछि अविरल वर्षाका कारण बाटोको समस्याको कारण अफ्ठ् यारो परेपनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए ।

त्यस्तै मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका सञ्चालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरुमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरुले कोठा भरिभराउ रहेको बताए । उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए ।

गुरुङले विगतका वर्षहरूको भन्दा अहिलेको सिजनमा होटल व्यवसायीहरूको लागि सन्तोषजनक रहेको बताए । उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रिय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने बताए ।

मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ । पर्यटकहरूको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ ।

मुस्ताङमा पर्यटन पूर्वाधार विकास र बिस्तार तिब्र रुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध धर्मालम्बीहरूको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ । मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताल लगायतमा पर्यटक बढेका छन् ।

मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । पछिल्लो समय नेपालका सबै पर्यटकिय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् ।

बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर