काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे यसकारण विजयी हुने सम्भावना बलियो

आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल, दलगत तथा स्वतन्त्र उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त छन्। आफ्ना एजेण्डा लिएर उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता रिझाउन घरदैलो गरिरहेका छन्। सोहीअनुसार काठमाडौं क्षेत्र नं. ३ मा पनि दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसार अभियानमा लागेका छन्।

काठमाडौं क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष चालिसे साझा उम्मेदवार छन्। चालिसे र नेकपा एमालेका कृष्णबहादुर राईबीच यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यस क्षेत्रमा ५७ हजार ५ सय ५ मतदाता छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्णबहादुर राईले १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्।

चालिसे गोकर्णेश्वर नगरपालिकाका मेयर भइसकेका नेता हुन्। उनको यस क्षेत्रमा राम्रो प्रभाव छ भने राई यसअघि प्रतिनिधि सभामा निर्वाचित भए पनि केही काम नगरेको नागरिकको आरोप छ।

२०७४ को निर्वाचनमा ४५ सय बढी मतान्तरसहित एमालेले जितेको यो क्षेत्रमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भने कांग्रेस बलियो देखिएको छ । गठबन्धन नगरी कांग्रेस एक्लै गए पनि विजयी हुने देखिन्छ भने गठबन्धन दलको साथका कारण चालिसेको जितमा थप बल पुग्नेछ।

सन्ताेष चालिसे।

नेकपा माओवादीले यस क्षेत्रमा उम्मेदवारी दिएको भए पनि निष्क्रिय पारिसकेको छ। गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसलाई दिने सहमति भएको थियो।

वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिमाण हेर्दा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६ माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४, एकीकृत समाजवादीको १० मत देखिन्छ।

स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरमा कांग्रेसका दीपककुमार रिसाल विजयी भएका थिए।

यो क्षेत्रमा काठ क्षेत्रको मुख्य भाग पर्छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, गोकर्णेश्वर नगरपालिकाको १ देखि ९ नम्बर वडा र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्म पर्छ।

प्रदेश ‘क’ मा काठमाडौं महानगरको वडा नम्बर ६, गोकर्णेश्वर नगरको ५ र ९ नम्बर वडा पर्छ भने प्रदेश ‘ख’ मा गोकर्णेश्वर नगरका १–४ र ६–८ वडा पर्छन्। यही क्षेत्रमा कागेश्वरी मनोहरा नगरको १, २ र ४ नम्बर वडा पनि पर्छन्।

यस्ता छन् नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेका चुनावी प्रतिबद्धता :

(क) राजनितिक प्रतिबद्धता

प्रकृतिले सुशोभित शिवपुरी जलाधारदेखि धार्मिक आस्था भएको सुन्दरीमाई, सम्पूर्ण उपत्यकालाई खानेपानीको स्रोत, बीपीको तपोभूमि, पितृहरूको पावन स्थल गोकर्णेश्वर मन्दिरलगायत विश्व समपदामा सूचीकृत बौद्ध स्तूपा साथै प्रदेशको चिनारी दिने बागमती नदिले सुशोभित यो क्षेत्र, धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपले परिपूर्ण क्षेत्र रहँदा पनि राष्ट्रद्वारा अपहेलित अनुभूति गरिएको हुनाले यस क्षेत्रको परिचय र महत्त्वलाई देशभरि पुर्‍याउने वाचा गर्दछु।

गोकर्णेश्वर महादेवदेखि बौद्ध स्तूपासम्म रहेका विभिन्न धर्मावलम्बीहरूलाई प्रतिनिधित्व गर्नेगरी यस क्षेत्रलाई एउटै मालामा लामबद्ध गराई आस्था, सद्भाव र सदाचारको मान–सम्मान रहने नीति तथा कार्यक्रमको लागि पहल गर्ने वाचा गर्दछु।

(ख) पर्यटर्न विविधतातर्फ

सभ्यता र संपदाको धरोहर बोद्धनाथ, उत्तर काशी , कागेश्वरी आदि धार्मीक पर्यटकिय स्थललाई संवर्द्धन र प्रवर्द्धन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने र आयआर्जनको स्रेतको विस्तार गर्न आवश्यक पहल गरी नीति निर्माण गर्नको लागि आवश्यक पहल गर्ने वाचा गर्दछु।

शहीद पार्क र शिवपुरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहसिक पर्यटनको लागि आवश्यक पहल र समन्वय गरी विकास निर्माणको लागि पहल गर्ने वाचा गर्दछु। यस क्षेत्रमा रहेका सांस्कृतिक, भौगोलिक , पुरातात्त्विक महत्त्वका स्थानलाई जगेर्ना गर्नुका साथै प्रवर्द्धन गर्ने वाचा गर्दछु।

(ग) कृषि प्रवर्द्धन तथा विकासतर्फ

यस क्षेत्रमा रहेका युवा, महिला र कृषकहरूलाई वैज्ञानिक तथा आधुनिक कृषि प्रणालीमा आबद्ध र व्यवस्थित गर्दै कृषि कर्जा, आधुनिक प्रविधिमा पहुँच पुर्‍याउने तथा सुलभ मल वितरणमा सहयोग पुर्‍याउने वाचा गर्दछु। साथै गाईपालन र बाख्रापालनलाई व्यावसायिक रूपमा विस्तार गराई आत्मनिर्भर बनाउने तथा अर्गानिक तरकारी उत्पादन र वितरणका लागि कृषकहरूसँग समन्वय गरी आवश्यकताअनुसार कार्य गर्ने प्रतिबद्धता जनाउँछु।

सडक स्तरोन्नति : माकलबारीबाट गोकर्णेश्वर दायाँ (गोकर्ण फरेस्ट रिसोर्ट)सँगको सहकार्यमा गाडी जाने बाटो बनाउने प्रयत्न गर्नेछु। चुच्चेपाटीदेखि आरूबारी, गागलफेदी, मूलखर्क, तारेभीर, जगडोल आदि पहाडी मार्गको स्तर उन्नति तथा नयाँ संरचना निर्माण गर्ने वाचा गर्दछु।

(घ) महिला तथा युवा

महिला तथा युवालक्षित स्वरोजगार कार्यक्रम सञ्चालन गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नेछु। साथै महिलाको क्षमता विकास र युवा विदेस जानु नपर्ने गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने र जानै पर्दा पनि प्राविधिक सीप सिकेर दक्ष भएर मात्रै जानसक्ने गरी विभिन्न सीपमूलक र आयमूलक तालिम सञ्चालनको लागि म प्रतिबद्ध रहनेछु।

(ङ) खानेपानीतर्फ

सम्पूर्ण उपत्यकालाई खानेपानी वितरण गराउने उदेश्यले निर्मित मेलम्ची खानेपानीको सुन्दरीजलस्थित पानी संकलन तथा वितरण केन्द्र यसै क्षेत्रमा अवस्थित हुँदा पनि यस क्षेत्रका बासिन्दाहरू उक्त खानेपानीबाट वञ्चित रहेको तथा स्थानीय स्रोत साधनको उपयोग हुँदा स्थानीय क्षेत्रलाई कुनै पनि प्रतिफल प्राप्त नभएको हुँदा त्यसको प्रतिफल प्राप्त हुने सुनिश्चितताका लागि आवश्यक नीति निर्माणको पहल गर्ने वाचा गर्दछु।

देशको दोस्रो सुन्दरीजल जलविद्युत् ६४० किलोवाट आयोजना जीर्ण अवस्थामा रहेको र पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पुरानो जलविद्युत् आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई यसको सेवा तथा रोयल्टीसमेत यस क्षेत्रका नागरिकको हकहितमा पर्ने गरी आवश्यक नीति निर्माण गर्ने वाचा गर्दछु।

(च) बागमती सभ्यता

धार्मिक आस्था, सामाजिक मान्यता र पहिचान बोकेको बागमती नदीलाई स्वच्छ र सफा बनाउने अभिभारा पनि हामीले लिनुपर्छ भन्ने मान्यता राखेर मैले काम गर्नेछु। नदीको मुहानदेखि पशुपति मन्दिर नजिकसम्म यही क्षेत्रमा पर्ने र मुहानदेखि नै सफा र संरक्षणको अभियान लिएर अगाडि बढ्दा भोलिको दिनमा बागमती स्वच्छ, सफा र सुन्दरताको नमुना बन्न सक्छ र बनाउनुपर्छ भन्नेमा पूर्ण प्रतिबद्ध रहनेछु।

(छ) स्वास्थ्य

यस भेगका जनातालाई निःशुल्क घरघरमा स्वास्थ्य सेवा पुग्नेगरी क्षेत्रका १३ वटै वडामा रहेका स्वास्थ्य चौकीहरूलाई स्तर उन्नति गरी नयाँ प्रविधिअनुसार उपचार हुने व्यवस्था गर्न प्रतिबद्ध छु। जन्मिँदादेखि नै शारीरिक रूपमा अशक्त एवं दीर्घरोग भएकालाई औषधी किन्नसमेत समस्या भइराखेको विषयमा कसरी आर्थिक भार न्यून गराउन सुलभ अनलाइन पसलहरूको माध्यमबाट सस्तो र सुलभ व्यवस्थापन हुनसक्छ भनेर आवश्यक पहल एवं नीति निर्माणमा तल्लीन रहने वाचा गर्दछु।

(ज) शिक्षा

शिक्षाको गुणस्तर वृद्धि गर्दै नागरिकहरूलाई प्रत्यक्ष रोजगार बनाउने तथा यस क्षेत्रमा रहेका हस्पिटल, उद्योगलगायत विभिन्न तालिम र प्राविधिक कार्य गरिरहेका संघसंस्थासँग समन्वय गरी प्रावधिक, नेतृत्व विकास एवं सामाजिक उत्तरदायी वहन गर्न मानव स्रोत साधन उत्पादन तथा विकासको लागि पहल गर्नेछु। यसको लागि सम्पूर्ण यसै क्षेत्रका विद्यालयहरूसँग समन्वय गरी आवश्यक कार्यक्रम गर्नको लागि आर्थिक, भौतिक तथा बौद्धिक पूर्वाधार व्यवस्था गर्न पहल गरी नीति निर्माण गर्ने वाचा गर्दछु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *