प्रभावकारी बन्दै विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम

नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो ।

युरोपियन युनियन र रेडक्रसको सहयोगमा आयोजना भइरहेको विपद्जन्य घटनाहरुको न्युनिकरण र रोकथामका लागि घरमै पुगेर विशेषज्ञहरुले जानकारी गराउने अभियानले धेरै हदसम्म जोखिम कम गरेको स्थानीयहरूको भनाइ छ । विपद्ग्रस्त क्षेत्रका स्थानीयहरूलाई विपद्का घटनाहरूको जानकारी र सावधानीका उपायहरूबारे परामर्श दिइने सुपर परियोजनाका कार्यक्रमहरूले आम नागरिकलाई विपद्जन्य घटनाका कारण हुने क्षति कम गर्न सहयोग पुगेको धनगढी उपमहानगरपालिकाकी स्थानीय पूजा भट्टले बताइन् । तालिमले विपद् आउनुपूर्वको तयारी र आइसकेपछि कसरी त्यसलाई धेरै क्षति हुनबाट रोक्नेकुरा सिकाएको बताइन् ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल चालक मीनबहादुर खड्का विपद् आउँदा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने बारेमा धेरै जनचेतना पाएको बताउँछन् । उनले विपद्लाई कम गर्नका लागि आवश्यक परेको खण्डमा विकल्प राखेर अघि बढ्नुपर्ने आवश्यकताको खाँचो रहने कुरा तालिमबाट सिकेको बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका अर्का स्थानीय सुरेश साउत विपद्का घटनामा आफ्नो सुरक्षासहित कसरी अन्य व्यक्तिको सुरक्षा गर्ने भन्ने कुरा तालिमबाट राम्रोसँग सिकेको बताउँछन् ।

त्यस्तै व्यवसायी एवं स्थानीय सञ्जयकुमार पन्तले विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाएको बताए । उनले यस्ता तालिमहरूको दायरा हरेक गाउँगाउँमा पुर्‍याउन सके विपद्का घटनाहरूलाई कम गर्न सकिने बताए । उनले यस्ता जनचेतनामूलक कार्यक्रमहरू विद्यालयबाट शुरु गर्नुपर्ने बताए । विद्यार्थीहरूलाई यस्ता जीवनोपयोगि तालिमहरु दिनसके हरेक विपद्का दुर्घटनाबाट जनधनको कम क्षति हुने निश्चित रहेको बताए।

त्यस्तै अर्की स्थानीय नाज्मा सलमानीले तालिमका कारण आफ्नै घरमा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको बताइन् । उनले आफ्नो घरको सम्भावित दुर्घटनालाई तालिमले नै जोगाएको बताइन् ।

त्यस्तै अर्की स्थानीय फोरन सलमानीले आमाले तालिमबाट सिकेको सीपका कारण घरमा आगो लाग्नबाट जोगिएको बताइन् । उनले परिवारका सबै सदस्यहरू डराइरहेको बेलामा आमाले भनेको कुराको पालना गर्दा पानीमा सल भिजाएर आगो लागिरहेको सिलिण्डरलाई थप आगो लाग्नबाट रोकेको बताइन् ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल फायरम्यान चन्द्रबहादुर पार्कीले आफूले तालिमबाट सिकेका कुराहरुलाई आम समुदायमा पनि सूचना प्रशारित गर्ने गरेकाले धेरै कुराको जोखिमलाई सहजै नियन्त्रणमा ल्याउन र समाधान गर्न मद्दत पुगेको बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी र आगलागीको प्रमुख जोखिमपूर्ण स्थान सुदूरपश्चिम भएकाले पनि सरकारले प्राथमिकता दिने गरेको बताए । उनले भौगोलिक र प्राकृतिक दृष्टिबाट पनि धेरै असुरक्षित स्थान भएकाले सुदूरपश्चिमलाई सरकारले विशेष प्राथमिकता दिएर विपद्का घटनाहरुको रोकथाममा सहयोग गरिरहेको बताए । उनले क्षति न्यूनीकरणका लागि जनतालाई चेतना फैलाउने कार्यक्रमहरु अघि सार्नुपर्ने बताए ।

धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले धनगढीमा विपद् नआउँदासमेत विपद्जस्तो परिस्थितिको सामना गर्नु परिरहेको बताए । उनले धनगढीमा डुबानको समस्या धेरै हुने गरेको बताए । खोला, नदीको बहावलाई अवरुद्ध र अतिक्रमण गर्ने कार्यले गर्दा सामान्य वर्षामा पनि विपद्को सामना गर्नुपरेको बताए । उनले उपमहानगरपालिकाले अबको ५ वर्षमा प्राकृतिक बहावलाई पूर्ववत अवस्थामा ल्याई प्राकृतिक दुर्घटना हुन नदिनका लागि काम थालेको बताए ।

पूर्वसूचनाका कारण यसवर्ष भने खेतमा धान डुबेको छ भनेर गुनासो नगरेको बताए । उनले पूर्वसूचनाबाट नै क्षति काम गर्न सकिन्छ भन्ने अवधारण लिएर काम गरिरहेको बताए । उनले अहिले उपमहानगरपालिकामा २४सै घण्टाका लागि नगरप्रहरी खटाइएको बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरपालिकाले युरोपियन युनियन र रेडक्रसको सहयोगमा विपद् न्यूनीकरणका लागि आपतकालीन व्यवस्था केन्द्र स्थापना गरी काम गरिरहेको बताइन् । उनले उपमहानगरपालिकाले विपद् न्यूनीकरणका लागि बजेट छुट्याएको र त्यसैअनुसार काम भइरहेको बताइन् ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले सुपर परियोजनाअन्तर्गत यूएनडीपीको कार्यक्रमका कारण आएका प्राविधिक समस्याहरुको समाधानका उपायहरु जान्ने अवसर पाएको बताए । उनले तालिमले घटना हुनुपूर्व अभ्यासमा जोड दिएको बताए ।

त्यस्तै विपद्सम्बन्धी विज्ञ.डा. सिर्जन मल्लले युरोपियन युनियनको परियोजनाअन्तर्गत अहिलेसम्म धनगढीको अमरगढी नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा विपद् सम्बन्धी तालिम अभ्यास गराइसकेको बताए। उनले विज्ञहरुले नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प जानसक्ने आकलन गरिरहेकाले त्यसको पूर्व तयारीस्वरुप कार्यक्रमलाई अघि बढाएको पनि जानकारी दिए । उनले नेपालमा विपद् व्यवस्थापनमा पालिकास्तरमा सरकारी स्तरबाट क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताए । उनले पालिकास्तरमा लगानी बढाउन जोड दिने र आम नागरिकहरुको क्षमता विकास गरी सम्भावित विपद्बाट बच्न सिकाउनुपर्ने आवश्यकता देखिएको बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका सूचना अधिकृत इन्जिनियर अनुप भट्ट विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिमैत्री रुपमा अघि बढ्नका लागि उपमहानगरपालिकाले अध्ययन गरिरहेको बताए । उनले विपद् व्यवस्थापनका लागि पहिलो महत्त्वपूर्ण कुरा भनेको सूचना भएकाले सूचनालाई सबैको पहुँचमा पुर्‍याउन आवश्यक रहेको बताए ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सुपरपरियोजनामा धनगढी उपमहानगरपालिकाका नगरप्राविधिक अधिकृत विराज पोखरेलले केन्द्रिय स्तरमा राष्ट्र विपद् प्रतिकार्य कार्यढाचालाई प्रदेशस्तरमा पनि बनाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरेको बताए । उनले यस्ता कार्यक्रमले नागरिकको चेतनास्तरमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको सुपर प्रोजेक्ट कार्यक्रममा कार्यरत प्रदेश प्राविधिक अधिकारी प्रगति भट्टराईले सुपर प्रोजेक्टले सुदूरपश्चिम प्रदेशमा स्थानीयस्तरदेखि प्रदेश सरकारसँग मिलेर विभिन्न विपद् न्यूनीकरणका कार्यक्रम गरिरहेको बताइन् । उनले शहरी विपद् र भूकम्प प्रतिकार्यमा तीनै तहका सरकारसँग समन्वय गरेर काम गरिरहेको बताइन् । उनले प्रदेश सरकार, जिल्ला र स्थानीय तहले विपद् न्यूनीकरणका लागि बजेट छुट्याए पनि प्रभावकारी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सुपर प्रोजेक्टले बजेट खर्च गर्ने र प्रभावकारी बनाउनका लागि पनि विभिन्न उपायहरुमा सहजीकरण गर्दै आएको बताइन् । उनले सरकारहरुसँग नीति नहुँदा छुट्याएको बजेट पनि विपद्जन्य कार्यका लागि प्रयोगमा आउन नसकेको गुनासो गरिन् । उनले विपद्को लागि धेरै बजेट छुट्याउनको ठाउँमा पूर्वतयारीका लागि ध्यान दिने हो भने सम्भावित दुर्घटनाबाट जोगिने बताइन् ।

प्रदेश प्राविधिक अधिकारी भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारले पनि पछिल्लो समय ध्यान दिने गरेको र प्रदेश सरकारबाट बोलाइएका बैठकमा उपस्थित जनाउने गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर