
चितवनमा टिक्न नसकेपछि प्रचण्ड गोरखा गए : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने बताए।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गरे। सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप थियो।
अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी गरे। उनले सत्तारूढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिर गरे। अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको बताए।
अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताए।
प्रतिक्रिया