बाँके २ मा जसपा र राप्रपाको भिडन्तले गठबन्धनलाई सहज

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जित निकाल्न सक्ने देखिएको छ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का पूर्वमन्त्री मोहम्मद इस्तियाक राई विजयी भएका थिए। तर, यसपटक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा. धवलशम्शेर राणाबीचको प्रतिस्पर्धाले सत्ता गठबन्धनका उम्मेदवारलाई जित निकाल्न सहज हुने देखिएको हो।

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट सुदीप नरसिंह राणा उम्मेदवार छन्।
राई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला डा. राणा नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा विजयी भएका थिए।

पूर्वमन्त्री र नगरप्रमुखको चर्चा भए पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको यस षेत्रमा नेपाली कांग्रेसको पकड पनि राम्रो छ । यो निर्वाचन क्षेत्रमा पर्ने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।

राप्रपाका उम्मेदवार राणालाई जिताउन बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)ले चुनावी तालमेल गरेको छ । प्रतिनिधि सभामा राप्रपा र दुईवटै प्रदेश सभामा एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए।

राप्रपा र नेपाली कांग्रेसका उम्मेदवार जिताउन चुनावी गठबन्धन र तालमेल भइरहँदा पूर्वमन्त्री एवं जनता समाजवादीका नेता राई भने यो निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जसका कारण पनि सत्ता गठबन्धनको जितको मौका मिल्न सक्छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर