विज्ञहरू भन्छन् : सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप जरुरी

विज्ञहरूले सुरक्षित शहरीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन्।

विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउन सक्ने विपद् न्युनीकरणका लागि सम्भावित जोखिमको पूर्वानुमानसहितको योजना विस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरूले जोड दिएका हुन्। ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ सम्मेलनले सुरक्षित शहर र विकासका लागि भविष्यमा निम्तिन सक्ने विभिन्न किसिमका विपद्का घटनाको पूर्वानुमान गरी योजना बनाउन नीति निर्माताह’लाई दबाब दिनुपर्ने निस्कर्ष निकालेको हो।

सम्मेलनमा नेपालको तर्फबाट सहभागी विज्ञ डाक्टर सूरज लामिछानेले विपद् न्यूनीकरण गरी दिगो र सुरक्षित शहर निर्माण गर्ने उपाय, अभ्यास, चुनौती र आवश्यकताका सम्बन्धमा छलफल गरी निस्कर्षहरूलाई नीतिगत तहमा लैजानुपर्ने निर्णय गरेको जानकारी दिए। नेपाललगायत टर्की, केन्या, इक्वेडर र बेलायतका गरी ९० जना वैज्ञानिकहरू सहभागी सम्मेलन मुख्यगरी जोखिममुक्त शहर निर्माणका बहुपक्षीय उपायका बारेमा केन्द्रित रहेको पनि उनले जानकारी दिए। सम्मेलनले निकालेको निस्कर्षलाई सरकारलाई हस्तान्तरण गरी नीतिगत योजना तर्जुमामा सहकार्य गरिने पनि उनले बताए।

उनले शहरणीकरणलाई व्यवस्थित बनाउने र भविष्यका शहरलाई सुरक्षित पार्ने दुवै चुनौती नेपाललाई रहेको बताए। अन्य मुलुकका शहरहरू व्यवस्थित भएकाले भविष्यका शहरलाई सुरक्षित बनाउने चुनौती मात्रै रहेको तर नेपालका शहरहरू व्यवस्थित नभएकाले दोहोरो चुनौती रहेको उनले स्पष्ट पारे।

भोलिको शहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्टर मार्क पेलिङले विपद्मैत्री मानवविकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा सम्मेलनले जोड दिएको बताए।

५ दिनसम्म चलेको सम्मेलनमा नेपाललगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरू सहभागी थिए। यूके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेटलगायत विभिन्न संस्थाहरूको संयुक्त पहलमा सुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्वआकलन गर्ने र अध्ययन निस्कर्षलाई आ–आफ्नो देशका सरकारसँग साझेदारी गर्ने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर