जहाँ सैनिक छन् त्यहाँ सत्य छ : सत्यमोहन जोशी
नेपाली साहित्य, इतिहास, संस्कृति र अन्वेषणको फाँटमा उत्कृष्ट योगदान दिएका शताब्दी पुरुष संस्कृतिवृद् सत्यमोहन जोशी २०७९ असोज ३० गते दिवंगत भए। वि.सं. १९७७ वैशाख २० गते ललितपुरको बखुंबहालमा जन्मेका जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो।
शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कला संस्कृति र रंगमञ्चमा गरेको योगदानको आयाम निकै फराकिलो छ। उनले पहिलोपटक वि.सं. २०१३ मा ‘हाम्रो लोक संस्कृति’, दोस्रोपटक वि.सं. २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ र तेस्रोपटक वि.सं. २०२८ मा ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थका लागि तीन पटकसम्म मदन पुरस्कार पाएका थिए।
उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कारलगायतबाट विभूषित स्वर्गीय जोशीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। ‘नेपाली मुद्रा’, ‘बाघभैरव’, ‘मृत्यु एक प्रश्न’, ‘सिपाही’, ‘रैती’ आदि उनका चर्चित कृतिहरू हुन्।
यस्ता बहुआयामिक व्यक्तित्वको नजरमा नेपाली सेना कस्तो थियो होला? वि.सं. २०७० को सिपाही वार्षिकका लागि जोशीले दिएको अन्तर्वार्तामा आधारित सिपाही पाक्षिकको १५ कात्तिक, २०७९ को अंकमा पुनः प्रकाशित सामग्री यहाँ प्रस्तुत गरिएको छ:
हामी केटाकेटी छँदाखेरि सिपाहीहरू आयो…, सिपाहीहरू आयो… भन्थ्यौं। उनीहरू खाकीको कट्टु लगाउँथे। त्यो बेलमा सिपाहीले खैरो कट्टु र पट्टा बेरेको बुठ लगाउँथे। पित्तलको टाँक भएको कोट, पेटी, टोपी नेपालमै तयार भएका हुन्थे। त्यो बेला र अहिलेको तुलना गर्दाखेरि अहिलेको सिपाहीको स्तर पहिरन र व्यावसायिकताको हिसाबले धेरै माथिल्लो छ।
म रानीपोखरीको दरबार स्कुलमा पढ्न जाँदाखेरि सिपाहीहरू खरीको बोटमा भेला हुन्थे। अहिलेको रंगशालालाई त्यो बेला सानो टुँडिखेल भनिन्थ्यो। अहिलेको हेडक्वार्टरदेखि लिएर रानीपोखरीको छेउसम्म सिपाहीहरू हुन्थे र कवाज खेल्थे। कवाज सकिएपछि उनीहरू डेरा हुने डेरामा र घर हुने घर जान्थे, ब्यारेक थिएन।
रत्नपार्कको प्रवेशद्वार अहिलेको शान्ति वाटिकातिर सडकपेटीका पसलमा बनारसबाट छापिएर आएका किताबहरू, पत्रपत्रिकाहरू र भानुभक्तको ‘रामायण’को विभिन्न काण्डहरू पाइन्थ्यो। कवाज खेलेर आएका सिपाहीहरू त्यहाँ सुन्दर काण्डहरू लय हालेर पढेको अहिले पनि झल्झली सम्झन्छु। यसरी रामायणमा सारा सिपाहीहरू आकर्षित हुन्थे। त्यसमा जंगबहादुरको बेलायतको भ्रमण, भोटसँगको लडाइँका सबाईका कुराहरू हुन्थे।
कवाज सकिएपछि सिपाहीहरू ती पत्रपत्रिकाहरूमा झुम्मिएको देख्दा उनीहरूको पढ्ने, सुन्ने र सुनाउने रुचि गजबै देखिन्थ्यो। पूर्व, पश्चिम सबैतिर नेपाली सेना पुगे। भौगोलिकलगायत अन्य विभन्न कठिनाइहरू त्यसबेलामा थिए, अहिलेजस्तो सुञ्चार सुविधा पनि थिएन। अंग्रेजले आँखा गाडिरहेको अवस्थामा पनि विभिन्न किसिमको कठिनाइको बाबजुद डटेर सामना गरे। पछि नेपाल र ब्रिटिश लडाइँ हुँदाखेरि उसले केही भू–भाग लग्यो। तर, जंगबहादुर शासक भएपछि सिपाही विद्रोहमा अंग्रेजलाई सहयोग गर्न लगाए। त्यसपछि नेपाली सिपाहीहरूको बहादुरीको अंग्रेजले कदर गरेका थिए। त्यही गुनले गर्दा अंग्रेजहरूले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए। यो सबै सिपाहीहरूकै देन हो। यस अर्थमा जंगबहादुर र सैनिकलाई बिर्सनु हुँदैन।
आजको नेपाल आफूभन्दा कैयौं ठूलो साम्राज्यवादी अंग्रेजहरूबाट बलले भन्दा पनि सैनिकहरूको बुद्धि र रणनीतिक कुशलताले गर्दा बनेको हो, जोगिएको हो। सैनिकहरूमा धेरै राष्ट्रप्रेम थियो। त्यतिबेलाका सिपाहीहरूले ‘जाइ कटक नगर्नू, झिकी कटक गर्नू’ भन्ने पृथ्वीनारायण शाहको उपदेशलाई अनुसरण गर्दै अंग्रेजहरूलाई परास्त गरेका हुन्। नेपालको इतिहासमा देश बचाउन अंग्रेजहरूलाई विभिन्न ठाउँबाट धपाए। भक्ति थापा, अमरसिंह थापाहरूको बहादुरीको वीरगाथा छन्। उजिर सिंह कर्णेलले अंग्रेजलाई जितेको नेपालको सैनिकहरूको इतिहासमा एउटा ‘गोल्डेन च्याप्टर’को रूपमा रहेको छ। आधुनिक युद्धको कुरा गर्दा पनि खुकुरीकै चमत्कारमा ब्रिटिशहरूको तर्फबाट फकल्याण्डलाई पराजित गर्ने पनि नेपालीहरू नै हुन्। अहिले पनि नेपाली सेनाले देशका लागि ठूलो इज्जत कमाइदिएका छन्।
विश्व शान्तिमा नेपाली सेनाको योगदानको संसारमा प्रशंसा गरिएको छ। साथसाथै देश, जनता र राष्ट्रिय अखण्डता जोगाउनको लागि नेपाली सेनाले ठूलो योगदान गरेको छ। अब अहिले पहिलेजस्तो छैन, सबै सिपाहीहरू जनताको छोराछोरी छन्। लोकतन्त्र, गणतन्त्रले गर्दा पनि समान किसिमले सबै पदहरूमा पुगेका छन्। यसलाई ठूलो परिवर्तन भएको मान्नुपर्छ। यतिबेला देशको परिस्थिति सोच्नुपर्ने स्थितिमा छ। जहाँ सैनिक छन् त्यहाँ सत्य छ, अझै सेनाले देशको निम्ति केही गरोस् भन्ने चाहन्छु।
प्रतिक्रिया