सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैन : आयुक्त भण्डारी

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्तिको दुरुपयोग गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरूले पदीय हैसियतले प्राप्त गरेका सेवा सुविधा प्रयोग गर्न नपाउने बताए । सरकारी सम्पत्ति प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहे पनि साधन स्रोत प्रयोगलाई आचारसंहिताले रोकेको बताए ।

उनले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरूको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पत्तिको प्रयोग गर्न आचारसंहितामा नै रोकिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहिताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने विश्वास आयोगले लिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *