तीन महिनामा व्यापार घाटा तीन खर्ब ५९ अर्ब
चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कुल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ ।
सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै सो अवधिमा कुल निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ ।
आर्थिक वर्ष २०७८÷०७८ को तुलनामा चालू आवको तीन महिनामा कुल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कुल पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।
गत आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।
यस्तै गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।
प्रतिक्रिया