कांग्रेसले वास्तविकताप्रति बलियो चेत भएकाे घाेषणापत्र ल्याएकाे छ : डा. स्वर्णिम वाग्ले

नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र ल्याएको बताएका हुन् ।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्पपत्रमा विकासका लक्ष्यहरू राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए ।

नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे ।

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए । जसमा आायात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फितिको विषयहरू रहेका छन् । मुद्रास्फितिको विषय आगामी सरकार बनेको ६ महिनाभित्रमा समाधान हुने डा. वाग्लेले बताए ।

नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए । उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्‍याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए ।

नेता वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक शक्ति संघर्षका कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रूपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए ।

सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिनेलगायतका विषय समावेश गरिएको छ ।

५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ ।

यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना छन् ।

प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने कांग्रेसको घोषणापत्रमा समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर