५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोमै चोरी गरेर बिक्री, चार जना पक्राउ
५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फूड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खानेतेल सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर, १ लिटरका १४ हजार ५६० र आधा लिटरका ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन ।
सिन्धुलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो । बारा प्रहरीले उजुरी गरेको ५ दिनपछि ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।
उनले पक्राउ पर्नेमा ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरी कात्तिक ४ गते पक्राउ गरेको बताए । उनले प्रहरीले चालक तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पक्राउ गरेको बताए ।
बोगटीले ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ रमेश कुमारको घरमा तेल भण्डारण गरेको भेटिएको पनि बताए ।
प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला परेको छ । बाँकी तेल उनीहरूले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया