
मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले एमालेको नेतृत्वमा सरकार बनाउँछ : ओली


नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।
अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास निर्माणको आशा गर्नु बेकार हुने पनि बताए ।
अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारूढ दलहरूले गरिरहेको आरोपसमेत लगाए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरूले निर्वाचन आचारसंहिताविपरीत फ्री भिसा र फ्री टिकटको कुरा नगरेको बताए ।
एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरू प्रतिबद्ध रहेको बताए । उनले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम सुरु गरेको र त्यो काम पूरा गरेरै छाडने दृढता समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरू पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए । उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए ।
प्रतिक्रिया