प्रतिपक्षी गठबन्धन परिवर्तनको विरोधी र निरंकुशताको पक्षधर : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आबद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका छन् ।

शुक्रबार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरूलाई सचेत गराए । उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिह्नमा छाप लगाइसकेको र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा छाप लगाइसकेको बताए ।

अध्यक्ष दाहालले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठूल्ठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए ।

अध्यक्ष दाहालले परिवर्तनका विरोधी र निरंकुशताका पक्षधरहरूको अर्को गठबन्धन बनेको पनि उल्लेख गरे । उनले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहानेहरू केन्द्रित भएकाले हल्का रूपमा नहेर्न पनि नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ, उसैलाई जिम्मेवारीबोध र खुशीका साथ भोट हाल्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *