कांग्रेस नेता पौडेलको निर्देशन, ‘प्रतिगमनलाई परास्त गर्ने संकल्प लिएर चुनावमा लाग्नुस्’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए । उनले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए ।
उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउने भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवाहरूलाई स्वरोजगार बनाउने र विदेशमा गई भौँतारिनुपर्ने बाध्यताबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गठबन्धनले जित्ने कुरा ठूलो नभई प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको जिकिर गरे ।
वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताहरूले अतीतलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया