मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग नगरौं : सशस्त्र महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न उनले सुझाव दिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अत्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे ।
निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन उनले आग्रह गरे ।
बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले निर्वाचनको मौन अवधिमा झडप हुनसक्ने भन्दै आवश्यक ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया