विदेशबाट आयात हुने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउन विज्ञहरूको सुझाव

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताएका छन् ।

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरूले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरूले वातावरणीय प्रभावका कारण खाद्यपदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए । कृषि विज्ञहरूले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए ।

नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानी वृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूले कृषि उत्पादनमा ठूलो सम्भवना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे । अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातीत कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुता हुने उनीहरू बताउँछन् ।

४२ औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको ‘नेपालको खाद्य प्रणाली र खाद्य सुम्प्रभुता’ विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान, जनशक्ति र लगानीको कमी रहेको बताए । उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरूले नेपाली रैथाने प्रविधिलाई विस्थापित बनाएको पनि बताए ।

डा. केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशिक रूपमा प्रतिस्पर्धा बढाउन सकिने अवस्था आउने बताए । उनले नेपाली किसानले उत्पादन गरेका वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिबन्ध गर्न आवश्यक रहेको बताए ।

डा. केसीले नेपालीहरूले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने बताए । उनले नेपाली खाद्य सामग्रीलाई उपभोगयोग्य बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

डा. केसीले नेपालले पछिल्ला केही वर्षमा कृषि उत्पादन बढेको भए पनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको बताए । उनले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–विक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको दाबी गरे । उनले नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले आयात बढ्न गएको पनि बताए ।

त्यस्तै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउनुपर्ने माग गरे । उनले राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै नागरिकहरू खाद्य अधिकारको पहँुचमा पुग्ने बताए ।

त्यस्तै मानव अधिकार एलान्सका महासचिव विदूर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषिसम्बन्धी शिक्षा कमजोर हुँदै गएको अवस्थामा कृषकहरूसमेत विदेश जाने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

महासचिव सुवेदीले विकसित मुुलुकहरूले हरित ग्याँस उत्पादन गरेका कारण खाद्य संकट आउन थालेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *