तातोपानी नाका सुनसान, व्यापार छाड्दै व्यवसायी
केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।
चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । वि.सं. २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उनलाई तातोपानीको घर ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ ।
नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । ‘नाका चल्यो भने गरिखान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ,’ शेर्पाले भने । सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । ‘अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन,’ कोदारीमा भेटिएका पूर्णबहादुर श्रेष्ठले भने, ‘हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।’
असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर, व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुन सकेका छैनन् । चीनले नाका खुलाउने विषयमा चासाे नदिँदा यहाँका धेरै व्यवसायी मर्कामा छन् ।
लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउँछन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको संख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउँछन् ।
लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर, अझै उनले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिले झैं चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उनले बताए ।
प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६/०७७ मा एक अर्ब ५९ करोड रूपैयाँ राजस्व उठाइएको थियो । ‘सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्ध भइरहने समस्या उस्तै छ,’ उनले भने । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशतमात्र राजस्व संकलन गरेको छ ।
काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किलोमिटर र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर, उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोशी बाढी–पहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो ।
बीस वर्षअघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर, यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदैछन् ।
मुलुककै राजस्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटे पनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।
-रूपक पुरी/रासस
प्रतिक्रिया