प्रहरीलाई ४० थान ब्रेथलाइजर सहयोग
विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा शुक्रबार नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रूपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक बसन्तबहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन् ।
दशैं, तिहार छठलगायतका ठूला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामाग्री हस्तान्तरण गरिएको हो । सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायब महानिरीक्षक कुँवरले बताए ।
चालकले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ब्रेथलाइजरको मुख्य भूमिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दासले बताए ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योती बानिया, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा.रवीन्द्र बासकोटा र नेपाल प्रहरीका प्रहरी अधिकृतहरूको उपस्थित रहेको थियो ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कुँवरले सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया