एउटी आमाको संघर्ष कथा : सात वर्षको प्रयासमा दुई पटक मृत भनिएका छोरा भेटिन्
छोरालाई जिउँदै प्रमाणित गर्न उनी तीन पटक फरक फरक अदालतमा पुगेकी थिइन्। तीन अदालत, कैयौं पानाको कागजपत्र र सात वर्षको कानूनी लडाइँपछि आमाले आफ्नो छोरा जीवित रहेको प्रमाणित गरेकी हुन्।
घटना भारत बिहार गयाको हो । मुन्नी देवी एक यस्ती आमा हुन् जसको छोरा आँखै अगाडि जीवित छ, तर धेरै वर्षदेखि कागजमा मरेको छ।
पूरै मामिला के हो ?
मुन्नी देवीमाथि आफ्नै श्रीमानको हत्या गरेको आरोप छ । २४ मे २०१५ मा श्रीमानको शव भेटिएको केही घण्टामै मुन्नी देवीलाई प्रहरीले पक्राउ गरेको थियो ।
गिरफ्तार हुनुभन्दा पाँच महिनाअघि मुन्नी देवीले छोरोलाई जन्म दिइन् । जसका कारण पक्राउ परेपछि उनको पाँच महिनाको बच्चा आमाबाट अलग्गिएको थियो ।
आठ महिना जेल बसेपछि मुन्नी देवीलाई सन् २०१६ जनवरीमा जमानत दिइयो । त्यसपछि मुन्नी देवी आफ्नो सन्तान माग्न ससुराल पुगिन्।
ससुराल घर पुगेपछि उनलाई बताइयो कि बच्चालाई झाडापखाला लागेर उसको मृत्यु भयो।
बालकको मृत्यु भएको प्रमाणित गर्न मुन्नी देवीलाई सरकारी कागजपत्रका साथै गाउँपालिकाका प्रमुख र सरपञ्चले दिएको मृत्यु प्रमाणपत्र देखाइएको थियो ।
तर एउटी आमाले यी सरकारी कागजहरू पत्याउन सकिनन्।
शंका यर्थाथमा परिणत
मुन्नी देवीले त्यही घरमा बच्चा खेलिरहेको देख्थिन्। उनको उमेर पनि मुन्नी देवीको सन्तान जत्तिकै थियो ।
बीबीसीसँगको कुराकानीमा मुन्नी देवीले भनिन्, “जब मैले यो बच्चालाई खेलिरहेको देखेँ, मेरो दिमागले यो मेरो बच्चा हो भनेर भन्यो। मैले पाँच महिनाको बच्चालाई छोडेर गएकी थिएँ, अहिले त सात वर्षको भइसक्यो। त्यसपछि केही गाउँले र मेरा एक देवरले यो मेरो बच्चा हो भनेर गोप्य रूपमा बताउनुभयो।”
एकातिर सरकारी कागजात, लगभग सिंगो गाउँ र ससुरा त अर्कोतिर मुन्नीदेवी एक्ली।
मुन्नी देवीले आफ्नो ससुराल घरमा गोप्य नजर राखेकी थिइन् र घरबाहिर एउटा बच्चा खेलिरहेको देखेकी थिइन् ।
त्यसपछि सन् २०१७ मा मुन्नी देवीले आफ्नो बच्चा फिर्ता पाउन गया जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।
मुन्नी देवीले आफ्नो बच्चा अपहरण गरेको आरोपमा ससुरालीविरुद्ध मुद्दा दायर पनि गरेकी थिइन्। तर, गया जिल्ला अदालतले ससुरालीलाई जमानत दिएको थियो ।
एउटै बालकलाई दुई पटक मृत घोषणा
यो अनुसन्धानमा एउटा कुरा राम्रो भयो। अदालतको आदेशपछि प्रहरी अनुसन्धानमा एक प्रहरी अधिकृतले केही गाउँलेका अनुसार बालक जिउँदै रहेको त केहीले बालकको मृत्यु भएको बताएको रिपोर्ट दिए।
मुन्नी देवीमा आश जागेको समय यही थियो । यस विषयमा थप अनुसन्धान अर्का प्रहरी अधिकृतले गरेका छन् ।
तर, केही दिनअघि मुन्नी देवीको पक्षमा आएपछि नयाँ प्रहरी अधिकृतले अनुसन्धान प्रतिवेदनलाई पूर्ण रूपमा उल्टाइदिए ।
दोस्रो अनुसन्धानपछि प्रहरीले मुन्नी देवीको बच्चाको मृत्युको रिपोर्ट दिएको थियो, अर्थात् आधिकारिक रूपमा बच्चा जिउँदै, त्यसपछि मरेको भनिएको थियो। त्यसपछि मुन्नी देवी पूर्ण रूपमा टुटिन्।
मुद्दा पारिवारिक अदालतसम्म पुग्यो
तर आमा भनेको आमा नै हो । यदि बच्चा अगाडि छ र अँगालो हाल्न सकिँदैन भने मन पिरोल्छ।
सन् २०१९ मा दोस्रो पटक मुन्नी देवीले आफ्नो सन्तान दिलाइदिन अदालतको ढोका ढक्ढक्याइन्। यसपटक यो मुद्दा सीमित अधिकार भएको पारिवारिक अदालतमा पुग्यो ।
गएका एसएसपीका तर्फबाट मुद्दाको अनुसन्धानमा एक उपनिरीक्षकले बालक जीवित रहेको बताए । तर, त्यसपछि तेस्रो पटक केसमा नयाँ ट्विस्ट आयो ।
त्यसपछि अदालतले बच्चालाई अगाडि ल्याउन आदेश दियो र दोस्रो सईले बच्चाको मृत्यु भएको रिपोर्ट दिए।
परिवार अदालतले बालकको मृत्युको रिपोर्ट हेरेपछि मुद्दा चलाउन अस्वीकार गरेको थियो।
प्रहरी अनुसन्धानमा एउटै बालक दुई पटक मरेर दुई पटक जिउँदै कसरी हुन सक्छ ?
यो मामिला पूरै जान्नका लागि बीबीसीले गयाकी एसएसपी हरप्रीत कौरसँग कुरा गर्याे।
हरप्रीत कौरले यस सम्पूर्ण मामिलामा प्रहरीको पक्ष लिइन्।
क्यूआर कोडले समस्या हल गर्याे
गयाकी एसएसपी हरप्रीत कौरले बीबीसीलाई भनिन्, “हामीसँग पटना नगर निगमले जारी गरेको मृत्यु प्रमाणपत्र थियो। त्यसमा क्यूआर कोड पनि थियो। यसबाहेक प्रमुख र सरपंचले जारी गरेको मृत्यु प्रमाणपत्र पनि थियो।”
त्यसपछि बीबीसीले मुन्नी देवीको गाउँ प्रमुख (२०१६) सँग कुरा गर्याे। त्यतिबेला गाउँको मुखिया इन्दुदेवी थिइन् । बीबीसीले उनलाई फोनमा सम्पर्क गर्दा उनका श्रीमान् अजितले बीबीसीलाई भने, “मुन्नी देवीका ससुराले बच्चाको मृत्युमा शोक मनाउन आफ्नो टाउको खौरेका थिए र १०० भन्दा बढी मानिसहरू लिएर हामीकहाँ आएका थिए। त्यसबेला सबैले गवाही दिए कि बच्चाको मृत्यु भएको भएको छ।”
अजितका अनुसार याे थाहा भयो कि मुन्नी देवीका ससुरा चुपचाप बच्चालाई लिएर राँची गएका थिए।
गाउँपालिका प्रमुख र सरपंचको लेटर हेडमा बालकको मृत्यु प्रमाणपत्र जारी गरिएको थियो ।
परिवार अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि मुन्नी देवी आफ्नो सन्तान पाउन र ससुरालीलाई दिइएको जमानतविरुद्ध पटना उच्च अदालत पुगिन् ।
यहाँ मुन्नी देवीले आफ्ना वकिल अविनाश कुमार सिंहको सहयोगमा हेबियस कोर्पस अन्तर्गत निवेदन दिएकी थिइन् अर्थात् कसैलाई जबरजस्ती कैदी बनाउने विरुद्ध अदालतमा पुनरावेदन दिएकी थिइन्।
पटना उच्च अदालतमा मुद्दा
बीबीसी हिन्दीले मुन्नी देवीका वकिल अविनाश कुमारलाई सम्पर्क गर्याे।
अविनाश कुमारले भने, “मुन्नी देवीलाई पहिलेदेखि नै ससुरालीमाथि शङ्का थियो कि ससुरालीले पहिले श्रीमानको हत्याको झुटो आरोपमा जेल पठाए र बच्चको मृत्युको बहाना बनाए ताकि श्रीमानको सम्पत्तिमा हिस्सा दिनु नपरोस्। जब सबै कुराको प्रमाण एक–एक गरेर जुट्यो तब मामिला पूरै स्पष्ट रूपमा बुझ्यौं।”
जातीय भाइचारा र ससुराको साथमा गाउँका कारण मुन्नीदेवीले खासै हिम्मत जुटाउन नसकेको अविनाश कुमारले बताए ।
अविनाश कुमार थप भन्छन्, “हाम्रो अगाडि समस्या यो थियो कि बच्चाको मृत्यु प्रमाणपत्र पटना महानगरपालिकाले जारी गरेको थियो। तर, मलाई यो रिपोर्टमा शंका थियो। जब मैले त्यहाँ सम्पर्क गरेँ, मलाई भनियो कि यसप्रकारको सूचना जानकारी अधिकार र कानूनबाहिरको कुरा हो त्यसैले केही सूचना दिन सकिँदैन। तर, मुन्नी देवीलाई यसरी हारेको देख्न मैले सकिनँ र आफ्नो तहमा थप अनुसन्धान गरेँ।”
नगरपालिकाका एक परिचित अधिकृतले अविनाश कुमारलाई भने कि यो मृत्यु प्रमाणपत्र नक्कली जस्तो छ।
अविनाश कुमारले यसबारे थप खोजी जारी राखे।
वास्तवमा, देशको हरेक जन्म र मृत्युको जानकारी सिभिल रजिस्ट्री प्रणालीको वेबसाइटमा उपलब्ध हुन्छ।
अविनाश कुमारले भने, “जब मैले यसको क्यूआर कोड स्क्यान गरेँ, म त्यो वेब पेजमा पुगें जहाँ यो प्रमाणपत्र थियो। र, पीएमसीका अधिकारीहरूले यो नक्कली कागजात हो भनी बताएपछि म निराश भएँ।”
तर नजिकबाट हेरेपछि अविनाश कुमार छक्क परे कि त्यो वेबसाइट वास्तवमा नक्कली थियो।
“क्यूआर कोड स्क्यान गरिसकेपछि यससँग मिल्दोजुल्दो वेबसाइटमा पुगेँ नकि मूल वेबसाइटमा। वास्तवमा कसैले यस्तो नक्कली वेब पेज पनि बनाएको थियो।”
यो जानकारी पाएपछि अविनाश कुमार अलि ढुक्क भए ।
डीएनए परीक्षणको प्रतीक्षा
मुद्दाको अर्को सुनुवाइ ८ सेप्टेम्बर २०२२ मा थियो।
मुन्नी देवी आफ्ना वकिल अविनाश कुमारसँग सबै जानकारी सङ्कलन गरी पटना उच्च अदालतमा न्यायाधीशसमक्ष उपस्थित भइन्।
यस मुद्दामा पटना उच्च अदालतले पीएमसी (पटना नगर निगम) आयुक्त; गया र पटनाका एसएसपीलाई १२ सेप्टेम्बरमा अदालतमा उपस्थित हुन आग्रह गर्याे।
अदालतले सोही दिन ४८ घण्टाभित्र बालकलाई उद्धार गर्न आदेश दिएकोमा १६ घण्टाभित्रै बालकको उद्धार भयो।
अहिले गाउँले पनि बच्चा मुन्नीदेवीकै भएको विश्वास गर्न थालेका छन् ।
उता गयाको मगध मेडिकल स्टेशनले मुन्नीदेवीका ससुरालाई ठगी, कागजात छेडछाडलगायतका कैयौँ मुद्दामा पक्राउ गरेको छ भने जेठान फरार छन् ।
गयाकी एसएसपी हरप्रीत कौरले बीबीसीलाई भनिन्, “अदालतको आदेशमा बच्चालाई बाल हेरचाह केन्द्रमा राखिएको छ र उसको राम्रो हेरचाह भइरहेको छ। हाल हामी फरार मुन्नी देवीका जेठाजुको खोजी गरिरहेका छौं ताकि यस्ता नक्कली कागजात बनाउने गिरोह पत्ता लगाउन सकियोस्।”
मुन्नीदेवीका वकिलका अनुसार अब यो बच्चाको वैज्ञानिक पुष्टिका लागि डीएनए परीक्षण गरिनेछ र सात वर्षपछि आमाले छोरा पाउने अपेक्षा गरिएको छ ।
-बीबीसी हिन्दीबाट भावानुवाद
प्रतिक्रिया