मानसिक तनावमा रहेका सन्दीपले भने : नेपाल फर्किने तरखरमा छु
नावालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । लामिछानेले आइतबार राति फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका छन् ।
लामिछाने त्यस समयमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिजमा रहेका थिए । आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको पोष्टमा उनले लेखेका छन् । उनले आफू आइसोलेसनमा बसेको दाबी गरेका छन् ।
‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु’ फेसबुकमा उनले लेखेका छन् ‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहमा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’ तर उनले आफू कहाँ छन् भन्ने कुरा भने खुलाएका छैनन् । कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनले बताएका छन् ।
नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप सम्पर्कविहीन बनेका हुन्। १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो।
काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो।
अदालतबाट अनुमति पाएकै दिन प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको थियो। त्यस दिन क्यानसँग उनी सम्पर्कमा थिए। त्यसको एकदिनपछि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका लामिछाने त्यसयता सम्पर्कविहीन छन्। उनी आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि विदेशमै कानुन व्यवसायीसँग छलफलमा रहेको चर्चा चले पनि त्यसको पुष्टि भइसकेको छैन। लामिछाने अहिले कहाँ छन् भन्नेमा नेपाल प्रहरी र क्यानका अधिकारी नै अनभिज्ञ छन् ।
प्रतिक्रिया