चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न उपत्यकामा भाेलिदेखि सवारी साधनको जाँचमा कडाइ गरिने
चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारी साधनको जाँचमा कडाइ गर्ने भएको छ ।
दशैंका लागि सोमबार घटस्थापनादेखि धेरै सङ्ख्यामा यात्रु बाहिरिने र सरकारले यात्रुबाहक सवारी साधनलाई जतासुकै चल्न रुट अनुमति आवश्यक नपर्ने हुँदा जाँच बढाइएको कार्यालयले जनाएको छ ।
सवारी साधनलाई छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको छ छैन जाँच गर्ने र सवारी साधनको अवस्था जाँच गरिने कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले बताए । उनले भने, “सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नाकामा जाँच बढाउन लागिएको छ ।”
उपत्यकाबाट बाहिरिने मात्रै नभई उपत्यकाभित्रै चल्ने सवारी साधनलाई लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि दशैंमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी हुँदा यो समयमा थप जाँच गर्न लागिएको छ ।
चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ ।
प्रवक्ता भट्टले भने, “चाडपर्वको समयमा अरू समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको छ ।” यात्रुको गुनासो सम्बोधनका लागि विभाग, व्यवसायी र ट्राफिक प्रहरी सम्मिलित यात्रु सहायता कक्षको स्थापना गरिएको छ । त्यो सम्बोधन नहुँदा १०० र १०३ मा पनि सम्पर्क गरेर गुनासो राख्न सकिने उनले बताए ।
प्रतिक्रिया