![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
पाकिस्तानमा मनाइयाे राष्ट्रिय दिवस
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![पाकिस्तानमा मनाइयाे राष्ट्रिय दिवस](https://www.pardafas.com/wp-content/uploads/2022/09/constitution-day-in-pakistan.jpg)
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानस्थित नेपाली राजदूतावासले स्वागत समारोहको आयोजना गरेको छ ।
इस्लामावादस्थित नेपाली राजदूतावासले संविधान दिवस र नेपालको राष्ट्रिय दिवसको अवसरमा स्वागत समारोहको आयोजना गरेको हो।
इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सेरेना होटल इस्लामावादमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा स्वागत समारोहको आयोजना गरेका हुन् ।
कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै राजदूत अधिकारीले नेपालको इतिहासमा यो दिनको महत्त्व र नेपालजस्तो विविधताले भरिएको देशमा राष्ट्रिय एकतामा यसको भूमिकाबारे प्रकाश पारे ।
संविधानले संघीय शासन प्रणाली र लोकतान्त्रिक मूल्यमान्यताका साथै मानवअधिकार र मानवीय मर्यादाका सिद्धान्तहरूलाई समेटेको पनि राजदूत अधिकारीले बताए ।
संविधान जारी भएको सात वर्षपछि नेपाली जनताको विकास र समृद्धिको दीर्घकालीन आकांक्षा पूरा गर्न संविधानले राखेको जग थप मजबुत हुँदै गएको उनले बताए ।
नेपाल–पाकिस्तान सम्बन्धका बारेमा बोल्दै राजदूत अधिकारीले दुई देशबीच सौहार्दता, मित्रता र सहयोगको उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको बताए । उनले पारस्परिक लाभका लागि सम्भावित सम्बन्धलाई थप विस्तार र विविधीकरणमा जोड दिए ।
त्यस्तै सोही अवसरमा राजदूत अधिकारीले पाकिस्तानमा हालै आएको मनसुनी बाढीबाट भएको क्षतिप्रति पाकिस्तान सरकार र जनताप्रति समवेदना व्यक्त गरे । उनले यस्तो संकटको घडीमा नेपाल र पाकिस्तानले एकअर्कालाई सहयोग गर्ने गरी काम गरिरहेको बताए ।
त्यसैगरी नेपालको प्राकृतिक र सांस्कृतिक आकर्षणलाई उजागर गर्दै राजदूत अधिकारीले सबैलाई सुन्दरता र आविष्कारको भूमिको अनुभूति गर्न नेपाल घुम्न निम्तो दिए ।
कार्यक्रमका प्रमुख अतिथि इस्लामिक गणतन्त्र पाकिस्तान सरकारका संघीय ऊर्जामन्त्री खुर्रम दस्तगीर खान थिए ।
प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री खानले पाकिस्तान सरकारको तर्फबाट नेपाललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि खुर्रमले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाबारे पनि प्रकाश पारेका थिए ।
कार्यक्रममा लागुऔषध नियन्त्रणका संघीय मन्त्री नवाबजादा शजैन बुग्ती, संसदका सदस्यहरू, सिनेट रक्षा समितिका अध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद, पूर्वमन्त्रीहरू, पाकिस्तान सरकारका उच्च नागरिक र सैन्य अधिकारीहरू र पाकिस्तानका पूर्व राजदूतहरूको उपस्थिति थियो । यस्तै नेपाल–पाकिस्तानका लागि राजदूत÷उच्चायुक्तहरू साथै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू, व्यवसायीलगायत पनि सहभागी थिए ।
प्रतिक्रिया