बेलायती महारानी एलिजाबेथको पहिलो नेपाल भ्रमण
बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा गए राति निधन भएको छ । ७१ वर्ष शासन गरेकी उनले नेपालको दुई पटक राजकीय भ्रमण गरेकी थिइन् । तत्कालीन राजा महेन्द्रले विशेश्वरप्रसाद कोइरालाको नेतृत्वमा रहेको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर शासन आफ्नो हातमा लिएपछि भ्रमण भएको थियो । २०१७ फागुन १५ देखि १८ गतेसम्म भएको नेपालको एलिजाबेथको नेपालको पहिलो राजकीय भ्रमणको विषयमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेकाे स्मरण पर्दाफासले साभार गरेकाे छ – सम्पादक
संसद् विघटन भएको दुई महिनापछि नै बेलायतकी महारानी एलिजाबेथ नेपालको राजकीय भ्रमणमा आउने समाचारले प्रजातन्त्रवादीहरू निराश भए । राजनीतिक पार्टीहरू अवैध घोषित भइसकेका र नेता तथा कार्यकर्ताहरू जेलमा बन्दी अथवा भारतमा निर्वासनमा गइसकेकाले काठमाडौमा राजनीतिक क्रियाकलाप शून्य थियो । नेपालका अखबारहरू पूर्णतः नियन्त्रित थिए, भारतीय अखबारहरूमा पनि सेन्सरसिप लगाइएको थियो विश्वासले प्रजातन्त्रवादी तर संलग्नताले विरोधी खेमामा देखिएका विद्वान् हृषीकेश शाह राजाको अध्यक्षतामा बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री नियुक्त भए पनि प्रजातन्त्रवादी युवकहरूको सम्पर्कमा हुनुहुन्थ्यो ।
कमल पोखरीस्थित आफ्नै घरमा बस्ने शाहलाई भेटेर एक दिन मैले बेलायतकी महारानीको नेपाल भ्रमण रोक्नुपर्ने विचार व्यक्त गरे । उहाँले भ्रमण रोक्न नसकिने तर ब्रिटिस सरकारमाथि दबाब सिर्जना गर्न सके नेपालमा प्रजातन्त्र पुनर्स्थापित गराउन सजिलो हुने राय दिनुभयो त्यस बेला मेरो उमेर १७ वर्ष थियो । जवान र पत्रकारसमेत भएकाले मैले भूमिका खेले प्रभावकारी हुने उहाँको ठहर भयो ।
दुई दिनपछि मैले फेरि उहाँलाई भेटेर महारानी एलिजाबेथको नाममा नेपाली युवकहरूका तर्फबाट आफैले लेखेको चिठीको मस्यौदा देखाएँ । ‘प्रजातन्त्र मासिएको देशमा प्रजातन्त्रको जननी देशको राष्ट्राध्यक्षले भ्रमण गर्नु हुँदैन’ भन्ने चिठीको मूल मजबुन उहाँलाई मन पर्यो तर मेरो अङ्ग्रेजी भाषा र शैली भने मन परेन । नेपाली र अङ्ग्रेजी दुवै भाषामा पारङ्गत शाहलाई परिष्कृत गरिदिन आग्रह गरे तर मान्नु भएन । मैले अनेक प्रसङ्ग जोडेर उत्तेजित तुल्याएँ ।
उहाँ गम्भीर भएर चुरोटको लामो सर्को तान्न थाल्नुभयो । अहिले नै यो चिठी तयार नभए उद्देश्य पूरा नहुने जिकिर गर्न थालेपछि भने तयार हुनुभयो यसरी, मन्त्री पद र प्रजातन्त्रप्रतिको आस्थाबीचको द्वन्द्वमा पदको मोह पराजित भयो । त्यसपछि उहाँ भन्न थाल्नुभयो, म लेख्न थाले । आधा घण्टामा बेलायती महारानीलाई नेपालमा प्रजातन्त्र पुनर्स्थापित गराउन सहयोग गर्न नेपालका युवकहरूका तर्फबाट आग्रह गरिएको चिठी तयार भयो । कमनरको कार्यालयमा अङ्ग्रेजी टाइपराइटर थियो ।
अखबार प्रकाशित भएपछि साँझ सबै जना कार्यालयबाट निस्किए अनि मैले एकान्तमा त्यो चिठी टाइप गरे । ब्रिटिस परराष्ट्र मन्त्री लर्ड ह्युम (उहाँ क्रिस्चियन किलर यौनकाण्डमा रक्षामन्त्री प्रोक्युमो फसेपछि सुरु भएको विवाद खप्न नसकेर प्रधानमन्त्री हेराल्ड म्याकमिलर राजीनामा दिएपछि १९६३ मा प्रधानमन्त्री हुनुभयो) महारानीको भ्रमण सुरु हुनुभन्दा दुई दिनपहिले नै काठमाडी आइपुग्नुभएको थियो ।
मैले पत्रकारको हैसियतले उहाँलाई होटल रायल (हाल उपराष्ट्रपति र निर्वाचन आयोगको कार्यालय रहेको भवन) मा भेटेर फागुन १५ गते त्यो चिठी दिएँ । करिब १० मिनेट हामीबीच कुराकानी भयो । दुब्लो, अग्लो, केटीली अनुहारका परराष्ट्र मन्त्री लर्ड हमले नेपालको राजनीतिक परिस्थितिबारे जानकारी लिनुभयो मेरो कुरा सुनेपछि केही बेर घोरिएर मसिनो स्वरमा उहाँले ‘नेपालसँग ज्यादै पुरानो सम्बन्ध भएकाले महारानीको भ्रमण स्थगित गर्न सकिंदैन तर यो भ्रमणले प्रजातन्त्रको समाप्तिलाई प्रोत्साहन नदेओस् भन्ने कुरामा ब्रिटिस सरकार सतर्क रहनेछ’ भन्नुभयो ।
महारानी एलिजाबेथको भ्रमण सुरु भयो । भ्रमणको समाचार सङ्कलन गर्न आएका ब्रिटिस पत्रकारले नेपाली पत्रकारहरूलाई बताएअनुसार महारानीले राजकीय भोजमा दिने भाषणको राजनीतिक टोन परिवर्तन गरेर परराष्ट्र मन्त्री लर्ड ह्युमले पुस १ गतेको शाही कदममा आफ्नो देशको असहमतिको सङ्केत दिनुभयो । प्रेसलाई समारोहअगाडि नै वितरण गरिएको महारानीको भाषण र समारोहमा महारानीद्वारा पढिएको भाषणबीच भिन्नता पाएपछि ब्रिटिस परराष्ट्र मन्त्रीले आफ्नो वचन पालन गर्नुभएको मलाई प्रस्ट भयो । इषीकेश शाह प्रसन्न हुनुभयो । त्यसपछि उहाँसँग मेरो सम्बन्ध अझ घनिष्ठ भयो ।
(पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको किताब ‘कूटनीति र राजनीति’मा बेलायती महामारी एलिजाबेथको पहिलो नेपाल भ्रमणको प्रसंग ।)
प्रतिक्रिया