कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।

बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरूको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरू रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए ।

उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागुऔषधको ओसारपसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे ।

त्यसैगरी बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको आगामी बैठक भदौ २६ गते आइतबार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *