प्रधानसेनापति शर्मासँग भारतीय सेनाध्यक्ष पाण्डेको भेट

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । सोमबार बिहान सैनिक मुख्यालय जङ्गी अड्डामा सेनाध्यक्ष पाण्डेले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल भएको छ ।

त्यसअघि सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए । प्रधानसेनापति  शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा जङ्गी अड्डामा सम्मान गारत निरीक्षण

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे ।

यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *