झापाबाट सिटौला, शर्मा र थेवेसहितको नाम सिफारिस

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक÷एक जनाको मात्रै नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ ।

क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री हुन् भने क्षेत्र नम्बर ३ मा सिफारिस हुने सिटौला पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री हुन्। क्षेत्र नम्बर ४ मा सिफारिस भएका थेवे पार्टी सभापति हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसार्इंको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनी प्रसाद सिटौलाको नाम सिफारिस भएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले झापामा कुनै पनि क्षेत्रमा जीत हासिल गर्न सकेको थिएन ।

क्षेत्र नं १ मा सिफारिस भएका शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएर कार्की निर्वाचित भएका थिए ।
क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएका सिटौलालाई राप्रपाका तर्फबाट उम्मेदवार भएका राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको थियो । चुनावी तालमेलका कारण लिङ्देन प्रतिनिधिसभामा सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको समानुपातिक, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फ सबैको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाका सभापति थेवेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *