सिन्के धूप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्के धूप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन् । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्के धूप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित थिए । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए ।

उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए । मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।

उनले उत्पादन बढाउने उद्योगहरू स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रूपान्तरण हुने बताए । मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले सानासाना उद्योगको योजनाहरू अगाडि बढाएको दाबी गरे ।

उनले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरूको संख्या बढाउने बताए । उनले सरकार उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

मन्त्री बडूले उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले मात्रै सरकारको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्ने बताए । उनले गाउँघरमा रोजगारीको माध्यम साना घरेलु उद्योगहरू भएको भन्दै साना उद्योगको सरकारले प्रवर्द्धन गर्नसके गाउँघरको आवश्यकता पूरा हुने र रोजगारी सिर्जना हुने पनि बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए । उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरूले बढाएर उद्योगहरू सञ्चालन गर्न आवश्यक रहेको बताए ।

पुनले राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरू बढाउने भएको बताए । उनले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रसँग भएको सम्झौताअनुसार ४० लाख रुपैयाँको सिन्के धूप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताए ।

उनले सिन्के धूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेसिन बनाउन खर्च गरिने बताए । उनले सम्झौताअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने बताए ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरूप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *