बीमाको पहुँच दूरदराजसम्म पुर्याउन अर्थमन्त्री शर्माको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । बिहीबार सुर्खेतस्थित बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँचबाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्री शर्माले बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा शहरबजारमा सीमित नभई गाउँगाउँसम्म पुग्नुपर्ने बताए । बीमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो ।
‘बीमा सेवा गाउँगाउँसम्म पुग्नु संघीयताको एउटा आयाम हो, वित्तीय र बीमा साक्षरताका कार्यक्रम लिएर ग्रामीण भेगका जनतासम्म पुग्न जरुरी छ,’ अर्थमन्त्री शर्माले भने, ‘कर्णालीका ११ प्रतिशत नागरिकमात्र बीमाको पहुँचमा छन्, यो धेरै कम हो, किसानका स–साना समूह बनाएर प्रशिक्षण गरौं ।’
बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको छ भन्दै उनले थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गरे ।
‘सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य लिएको छ, बीमा कम्पनीहरू पनि त्यहाँसम्म पुग्नुपर्याे,’ उनले भने, ‘कर्णालीका सबै पालिकामा अनिवार्य पुग्नेगरी कार्यक्रम बनाउनुस् ।’
बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक–बीमितका समस्या समाधान गर्नुपर्ने बताउँदै अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बीमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गरे ।
आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य) ले गरिब परिवारहरू बीमाको पहुँचबाहिर रहेकाले बीमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिए ।
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा व्यवसायलाई विविधीकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्नेगरी कार्यक्रम सञ्चालन गर्ने बताए ।
प्रतिक्रिया