चर्चित सीडीओ वसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
चर्चित प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीसहित १३ जनाविरुद्ध सरकारी सम्पत्ति हानीनोक्सानी पुर्याएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
धनुषााका तत्कालीन सीडीओ गाैतमसहितले धनुषा जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेर अनियमिता गरेको उजुरी अख्तियारमा परेको थियो।
त्यस सम्बन्धमा अनुसन्धान गर्दा गुठीको नाममा रहेका जग्गाको मुआब्जा वितरण गर्ने क्रममा कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरेर सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
मुआब्जा निर्धारण समितिका अध्यक्षसमेत रहेका गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुषालसहित १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनीहरूले गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितता गरेकाे अख्तियारकाे दाबी छ।
अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन, विचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ।
यस्तै जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्णविरुद्ध पनि मुद्दा दर्ता भएकाे अख्तियारले जनाएको छ।
प्रतिक्रिया