इन्स्पेक्टरद्वय नेम्वाङ र अधिकारी बने प्रदेश १ को ‘सुपर बेस्ट पुलिस’

प्रहरी निरीक्षकद्वय बवीन्द्र नेम्वाङ र अर्जुनकुमार अधिकारी प्रदेश नं. १ को सर्वोत्कृष्ट प्रहरी बनेका छन्। १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश प्रहरी कार्यालयको अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अधिकारीलाई उत्कृष्ट कार्यसम्पादन गरेबापत साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

प्रहरी निरीक्षक नेम्वाङले माेरङकाे बूढीगंगा गाउँपालिका–१ बस्ने दिपेन यादवकी १ वर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गरी बालिका निकिशालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएकाले सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै प्रहरी निरीक्षक अधिकारी भोजपुर नगरपालिका–६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका– ८ पोखरेका ६० वर्षीय सूर्यबहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकाले सर्वोत्कृष्ट प्रहरी बनेका हुन्।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *