वर्तमान सरकार मंसिर ८ गतेसम्म मात्रै रहन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन् । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औं प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनै पनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुनै पनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ति सामग्रीहरू विशिष्ट सम्पदा भएकाले यिनको खोजी गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यकता भएको बताउ । प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै खुशी व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘ई–बुक एप’ को पनि शुभारम्भ गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *