फोहोर दिएबापत पैसा दिने गरेर योजना बन्दैछ : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

उनले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्याँसलगायतका वस्तु उत्पादन गर्ने बताए ।

उनले देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भए पनि अवधिभित्रै ग्याँस, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए ।

उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए ।

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको बताए ।

उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपैयाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पूँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताए ।

मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले शहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर