फास्ट ट्रयाकको काम निर्धारित समयमै सक्नेगरी कार्ययोजना बनाउन निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ ।
समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको छ ।
‘२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतीक्षित एशियन हाईवे मापदण्डको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको आ.व. २०७८/०७९ सम्ममा भएको २१.१८ प्रतिशतको समष्टिगत प्रगति र आयोजनाको पूर्वनिर्धारित कार्यतालिकाबमोजिम ठेक्का व्यवस्थापनका कार्यहरू हालसम्म हुन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा समिति विश्वस्त हुने अवस्था देखिँदैन,’ बैठकको निर्णय बारे जानकारी दिदैँ समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्,‘यस परिस्थितिलाई मध्यनजर राखी आयोजनाको लागत बढ्न नदिई गुणस्तरीय रूपमा निर्धारित समयमा सम्पन्न गर्न पर्याप्त स्रोतसहित ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने विषयमा तत्काल गम्भीरतापूर्वक पहल गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय सम्बद्ध आयोजनालाई निर्देशन गर्दछ ।’
त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरू ईआईए र ईएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए/नभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि निर्देशन दिएको छ ।
त्यसैगरी समितिको २०७८ चैत १३ गतेको बैठकले गरेको निर्देशनका सम्बन्धमा रक्षा मन्त्रीस्तरीय निर्णयबाट गठित छानबिन समितिको प्रतिवेदन समितिमा प्राप्त भएकोले सो प्रतिवेदनबारे आगामी बैठकमा छलफल गरिने समिति सभापति खड्काले जानकारी दिइन् ।
प्रतिक्रिया