देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पूँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अबको निर्वाचनबाट दलाल पूँजीपति, नोकरसाह पूँजीपति र भ्रष्टहरूमात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए ।

उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए । उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए ।

अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपनाझैं भएको बताए । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गरे ।

अध्यक्ष दाहालले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए । उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार रहेको दाबी गरे ।

अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्न सक्ने दाबी गरे । उनले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गरे ।

उनले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाति र समुदायले सुख नपाउने बताए । अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखा परेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *