अभियान लघुवित्तले साउन १८ गते आईपीओ निष्कासन गर्दै
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कुल जारी पूँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार ७५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्नने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।
प्रतिक्रिया