यसरी एक वर्षकी अपहरित नाबालिकाकाे विहारबाट भयाे उद्धार …
मोरङको बूढीगंगा गाउँपालिका–१ का दीपेन यादवलाई करिब दुई महिना अगाडि एउटा अपरिचित नम्बरबाट फोन आयो । उठाएर बोल्दा त्यो कुनै महिलाको आवाज थियो । तर, कसको थियो भन्ने तत्काल पत्ता लागेन ।
त्यसपछिका दिनमा पनि दीपेन र ती महिलाबीच फोनमा कुराकानी भइरह्यो । अलिपछि थाहा भयो, ती महिला थिइन्– विराटनगर महानगरपालिका–५ कारखाना टोलकी २७ वर्षीया अनु साह ।
अनु र विराटनगर महानगरपालिका–६ रामपुर चोकका २७ वर्षीय रवीन्द्रकुमार साहबीच विगत २–३ वर्ष अगाडिदेखि चिनजान थियो । एकदिन रवीन्द्रले अनुलाई दीपेनलाई फोन गरेर उनीसँग नजिकको सम्बन्ध बनाउन भने । अनुले सोहीअनुसार गरिन् । दीपेन र अनु नजिकिए ।
नजिक बनेपछि उनीहरूबीच कुराकानी र भेटघाट बढ्यो । सोही क्रममा दीपेनले आफ्नी श्रीमती काठमाडौंमा बस्ने गरेको र आफ्नो एक छोरी पनि रहेको कुरा अनुलाई सुनाए ।
अनुले विगत केही दिनदेखि दीपेनकी छोरी हेर्ने भनेर कर गर्दै आएकाले साउन २ गते सोमबार बिहान आफ्नो कारमा एक वर्षकी छोरी निकिशा यादवलाई हालेर घरबाट निस्किए । घरबाट बाहिर निस्किएको केही बेरमा विराटनगरको रोडशेषमा रहेको स्वागतम होटल अगाडि अनु आइन् । दीपेनले अनुलाई पनि कारमा चढाए । कारमा बस्दा अनुले आफूसँग ल्याएको बच्चाको कपडा दीपेनकी छोरी निकिशालाई फेरिदिइन् र निशिकाले लगाएको पुरानो कपडा आफ्नो साथमै राखिन् ।
कारमा चढेका अनु र दीपेन विराटनगर महानगरपालिका– १२, रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोडस्थित एक चिया पसलमा पुगे ।
त्यहाँ पुगेपछि दीपेनले दुई कप चिया अर्डर गरे । तर, अनुले पिउन मानिन् । मास्क लगाएर बसिरहिन् ।
कारबाट ओर्लँदा र चिया अर्डर गर्दासम्म दीपेनकी छोरी निकिशालाई अनुुले नै बोकेकी थिइन् । चिया पसलमा रहेको केही समयपछि अनुले दीपेनसँग मोबाइल मागेर फोन गर्नुछ भनी चिया पसलभन्दा बाहिर गइन् ।
यति हुँदासम्म दीपेनले के भइरहेको छ भन्ने केही भेउ पाउन सकिरहेका थिएनन् । तर, यी सब घटना दीपेनकी छोरी निकिशालाई अपहरण गर्ने पूर्वयोजनाअनुसार भइरहेका थिए । यसको मुख्य योजनाकार थिए– रवीन्द्र ।
रवीन्द्र पहिले नै उक्त स्थानमा मोटरसाइकल ल्याएर अनु र दीपेनकी छोरी निकिशालाई लिन तयार भई बसेका थिए । निकिशालाई लिएर अनु रवीन्द्र भएको स्थानमा पुग्नासाथ रवीन्द्रले आफ्नो प्र.०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा चढाएर अनु र निकिशालाई सुनसरीको दुहवी, इनरुवा, सप्तरीको राजविराज हुँदै भारतको कुनौली पुर्याए ।
कुनौलीबाट भारतीय गाडी रिजर्भ गरेर रवीन्द्रले अनु र निकिशालाई भारत विहारको दरभंगा पठाए र उनी सोही दिन फर्केर विराटनगर आए । फोन गर्नुछ भनेर दीपेनकी छोरी साथै लिएर चिया पसलबाट बाहिर निस्केकी अनु अबेरसम्म नफर्केपछि दीपेन आत्तिए । छोरी हराएको भनेर उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेखे ।
यता घटनाका मुख्य योजनाकार रवीन्द्रले अनुको मोबाइलबाट दीपेनको परिवारलाई फेसबुकलगायत सामाजिक सञ्जालमा छोरी हराएको कुरा पोस्ट गरेको हटाहन धम्की दिए । ‘भोलि फोन आउँछ । अहिले शान्त भएर बस्नु भनेको’ आशयका धम्कीपूर्ण मेसेज गरे ।
दरभंगामा अनु निकिशालाई लिएर दुई दिनदेखि बस्दै आएकोमा बुधबार बिहान ८ बजे नेपाल–भारत सीमा क्षेत्रबाट अपहरित दीपेनकी छोरी निकिशालाई प्रहरीले सकुशल उद्धार र अनुलाई पक्राउ गर्यो । घटनाका मुख्य योजनाकार रवीन्द्र पनि उनी आफैंले सञ्चालन गरेको बूढीगंगा गाउँपालिका–१ स्थित श्रीराम ट्रेडर्सबाट बुधबार नै समातिए ।
यसरी दुई दिनअघि नेपालबाट अपरहणमा परेर भारत पुर्याइएकी एक वर्षकी नाबालिकालाई सकुशल उद्धार र अपरहणमा संलग्नलाई पक्राउ गर्नमा मोरङ प्रहरीले लिएको एक्सन निश्चय नै प्रशंसनीय छ ।
पक्राउ परेका नाबालिका अपहरणमा संलग्न अनु र रवीन्द्रविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गतको कसूरमा अनु्सन्धान गर्ने भएको छ । फौजदारी संहिता २०७४ अनुसार प्रतिवादीहरूलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले प्रतिवादीका साथबाट घटना अवधिभर प्रयोग भएका शंकास्पद सबै सामग्री बरामदसमेत गरेको छ ।
प्रतिक्रिया