भारतीय सेनाध्यक्ष जनरल पाण्डेको नेपाल भ्रमण यसकारण छ महत्वपूर्ण
नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणका लागि औपचारिक प्रक्रिया थालेको छ । प्रधानसेनापति प्रभुुराम शर्माले पाण्डेलाइ भदौको २० देखि २३ सम्म नेपाल आउन परराष्ट्र मन्त्रालयमार्फत निम्तो पठाएका छन् । यद्यपी उनको भ्रमण मिति स्वीकृत भने भइसकेको छैन ।
जनरल पाण्डे वैशाख १८ मा जनरल मनोज मुुकुन्द नरवणे सेवा निवृत्त भएपछि सेनाध्यक्ष बनेका हुन् । यतिबेला जनरल पाण्डे छिमेकी देशहरुको भ्रमणमा ब्यस्त छन् । उनले पछिल्लो समय बंगलादेशको सैनिक भ्रमण गरेका छन् ।
नेपाल अमेरिकी सेना र त्यहाँको रक्षा मन्त्रालय मातहत रहेको इण्डो प्यासिफिक सैन्य कमाण्ड अन्तरगतकाे सैनिक गठबन्धनमा बस्ने वा नबस्ने बिषयको औपचारिक निर्क्याैल नभइसकेको अवस्थामा भारतीय सेनाध्यक्ष पाण्डेको नेपाल भ्रमणको तयारी सुरु भएको हो । यस्तै प्रधानसेनापति त्यही गठबन्धनमा रहेका अधिकांश देशका सेना प्रमुखहरु सम्मिलित रहने चिफ अफ डिफेन्स स्टाफ कन्फ्रेन्सबाट फर्केपछि भारतीय सेनाध्यक्ष जनरल पाण्डेको नेपाल भ्रमण राखिएको छ । यी दुबै विषयले उनको भ्रमण महत्वका साथ हेरिएको छ ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध ऐतिहासिक र परम्परागत हो । यो सम्बन्धकै कारण धेरैपटक नेपाल र भारतबीचमा आएका उतारचढावमा सैन्य कुटनीति र सेनाको सहजीकरणले प्रमुखता पाएको छ । भारत नेपाली सेना अक्षुण रहोस भन्ने चाहना राख्दछ ।
उसले यसकै कारण आफ्नो परस्पर सत्रु भएपनि पाकिस्तान र चीनका सेनासँग नेपाली सेनाको सम्बन्ध बिस्तारमा कहिले अवरोध गरेको छैन् ।
तर, नेपाली सेनालाई कुनै देशले निर्माण गर्ने सैन्य गठबन्धमा सहभागी हुने विषय भारतीय सेनाका लागि आपत्तिको विषय बनेको छ । यसलाई अनौपचारिक रुपमा उसले जंगी अड्डा र सिंहदरबारसम्मलाई जानकारी गराएको छ ।
यस्तै सेनाध्यक्ष जनरल पाण्डेको नेपाल भ्रमणकाक्रममा भारत सरकारले अघि बढाएको अग्निपथ योजनाका विषयमा समेत माथिल्लो तहमा चर्चा हुन सक्नेछ । यो योजनाले कतै भारतीय सेनामा नेपालीहरुको प्रवेशलाई असर गर्ने वा नगर्ने भन्ने विषय प्रमुख रहनेछ । तर, भारतले अग्निपथ योजना अन्र्तगत भर्ना भएका अग्निवीरहरुका लागि तोकेको चारवर्षे अवधि, उनीहरुको सेवासुविधा र त्यसपछिका कार्यक्रममा स्पष्ट भएकाले यो विषय चर्चामा रहेपनि प्रमुखता पाउने छैन् ।
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको प्रमुखता भनेको उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्ने, द्धिपक्षिय सैन्य हीतका विषयमा छलफल र उनको उच्च स्तरीय भेटघाट हुनेछ ।
नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध सौहार्दताका लागि दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २०७८ कात्तिक २४ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिइसकेका छन् ।
शर्माले उक्त पदवी लिएको आठ महिना बितिसकेको छ । उनी भारत भ्रमणमा जाँदा भारतका सेनाध्यक्ष मनोज मुकन्द नरवणे थिए ।
को हुन् पाण्डे ?
जनरल पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर हुन् । सेना प्रमुख बन्नुअघि उनी उपप्रमुख थिए ।
पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पाएपछि सेनाका वरिष्ठ अधिकारी बनेका हुन् ।
नेसनल डिफेन्स एकेडेमीका पूर्व छात्र पाण्डेलाई डिसेम्बर १९८२ मा कोप्र्स अफ इन्जिनियर्सको एउटा रेजिमेन्ट बम्बे सेपर्समा खटाइएको थियो । उनले युनाइटेड किंगडमको क्याम्बरलीको स्टाफ कलेजमा पढेका छन, त्यसपछि उनी भारत फर्किए । त्यसपछि उनलाई उत्तरपूर्वी माउन्टेन ब्रिगेड र एक कोरको ब्रिगेड मेजर नियुक्त गरियो ।
लेफ्टिनेन्ट कर्णेलको दर्जामा बढुवा भएपछि उनले इथियोपिया र इरिट्रियामा संयुक्त राष्ट्र नियोगमा प्रमुख इन्जिनियरका रूपमा काम गरे । आफ्नो सैन्य करियरमा पाण्डेले जम्मुकश्मीरमा नियन्त्रण रेखा (एलओसी) मा ११७ इन्जिनियर रेजिमेन्टको कमान्ड गरेका छन् ।
उनी जम्मुकश्मीरको एलओसीमा पल्लनवाला सेक्टरमा अपरेशन पराक्रमको क्रममा इन्जिनियर रेजिमेन्टको कमान्ड गर्न गएका थिए ।
पाण्डेले आमर्मी वार कलेज, महूबाट हायर कमाण्ड कोर्स पनि पूरा गरेका छन्, त्यसपछि उनी मुख्यालय ८ माउन्टेन डिभिजनमा कर्णेल क्यू नियुक्त भए । उनले २०२१ मा पूर्वी कमाण्डको जिम्मेवारी लिनुअघि अण्डमान र निकोबार कमाण्डको कमाण्डर–इन–चीफको रूपमा पनि काम गरेका छन् ।
उनी उत्कृष्ट सेवाका लागि परम विशिष्ट सेवा पदक, अति विशिष्ट सेवा पदक, विशिष्ट सेवा पदक, प्रधानसेनापति प्रशंसालगायत पदकबाट सम्मानित भएका छन् ।
उनका स्टाफ एक्सपोजरहरूमा उत्तर पूर्वमा माउन्टेन ब्रिगेडका ब्रिगेड मेजर, सैन्य सचिवको शाखामा सहायक सैन्य सचिव (एएमएस), उच्च उचाई क्षेत्रमा माउन्टेन डिभिजनका कर्नेल क्यू र मुख्यालय पूर्वी कमाण्डमा ब्रिगेडियर जनरल स्टाफ (अपरेसनहरू) समावेश छन् ।
उनले सेनाको मुख्यालयमा मिलिटरी अपरेसन निर्देशनालयमा अतिरिक्त महानिर्देशक, प्रधान कार्यालयको दक्षिणी कमाण्डको प्रमुख र सेना मुख्यालयमा महानिर्देशक भएर पनि काम गरिसकेका छन् ।
प्रतिक्रिया