काठ तस्करी र वन्यजन्तुको चोरी सिकारीमा संलग्न ६१ जना पक्राउ, २२ फरार
राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।
खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ । यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद भएको उनले बताए ।
आर्थिक वर्ष २०७७÷७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ थान दर्ता भएका थिए । डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ । यसमा बरण्डाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ । खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ ।
यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा तीन करोड ६९ लाख छ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ ।
खनालका अनुसार बिरुवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरु गरिएको हो । शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया