सुडानमा भएको जातीय दंगामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको अल जजिराले आफ्नो अनलाइन संस्करणमा जनाएको छ ।

सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्, ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको भएको समाचारमा उल्लेख छ । सो दंगामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका यहाँका एक सुरक्षा समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

झडपका क्रममा कैयौं पसलहरु क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आइतबारसम्म सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ ।कर्फ्यु लगाइएको क्षेत्रमा मानिसहरुलाई आवतजावत र भिडभाड गर्न निषेध गरिएको छ । स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *