मन्त्रिमण्डल हेरफेर, एकीकृत समाजवादीका मन्त्री फेरिए
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दैै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।
नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।
संसदमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको थियो ।
तर लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्ति –
प्रतिक्रिया