
मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद माग गर्दै मुद्दा दर्ता


सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्ता गरेको हो ।
दोषी ठहर भएमा यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।
सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडिओ सार्वजनिक गरेकी किशोरीले गत सोमबार मानव बेचबिखनको कसुरमा जाहेरी दिएकी थिइन् ।
उनले आफूमाथि यौन हिंसा भएको भन्दै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।
त्यसपछि परेको दबाबबीच पाण्डे पक्राउ परेका थिए । जबरजस्ती करणीको एक वर्षे हदम्याद कटेका कारण पाण्डेविरुद्ध प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार अदालतले म्याद लिनुपूर्व पीडितलाई अदालतमै उपस्थित गराएर बयान गराउनुपर्ने व्यवस्था छ।
पाण्डेविरुद्धको कसुरमा पनि मुख्य प्रमाण नै पीडितको बयान मानिएको छ । घटना ८ वर्ष पहिलेको भएकाले यो घटनामा प्रहरीले लामो अनुसन्धानपछि मिसिल सरकारी वकिललाई बुझाएको थियो ।
प्रतिक्रिया