इयान बेकर : यता फरार सीमामा बहार

Posted: October 11, 2014 in By Deepak Kharel

KATHMANDU: नागरिकका पत्रकार तथा हाम्रा स्कुले दाई सुबोध गौतमको शनिबार नागरिक दैनिकमा प्रकाशित समाचार पढेपछि इयान बेकरको खोजीमा लाग्न मन लाग्यौ । यसो हेरोको त नेपालको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेका बेकर महोदय त तिब्बतमा आफ्नो धन्दा जमाउदै रहेछन । इन्टरपोलले राखेको फोटो भन्दा अझ हसिला र मोटाएका बेकरले दुर्लभ यात्रा ( रेअर जर्नी) नामक वेब साइट मार्फत तिब्बतमा घुमाउने देखि त्यस्का बिषयमा लेख्ने काम गरिरहेका रहेछन । नेपालमा २४ वर्ष प्रहरी मुख्यालय नजिक बिताएका बेकरको नेपाल रहुन्जेल सुरक्षा फौज, राजनीति र सभ्रान्त ब्यापारी घरानियाँसँग उठबस रहेको थियो । प्रहरीले उनको भाडाको घरबाट बरामद सामाग्रीले इयान सौखिन नभई ब्यापारी भएको पुष्टि गरिसकेको छ ।
इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको ब्यक्ती नेपालको साधसीमामा रहेको तिब्बतमा सक्रिय रहनु र पछिल्लो केही वर्ष देखि दुर्लभ बन्यजन्तुका आखेटोपहार र पुरातात्विक मूर्ती तिब्बत तर्फ तस्करी हुदैगर्दा बरामद हुनु ‘बाघ कराउनु र बुढी हराउनु ‘ मात्रै होला त ?

हेरौ पर्दाफासले खोजेका तस्बिरहरु :

 

10613062_852368751441219_3302121385481210324_n index ian bakar 5 ian bakar 4 ian bakar 2 ian bakar 1 ian bakarian bakar 6

र बाँकी आजको नागरिक दैनिकमा प्रकाशित सुबोध गौतमको समाचार सांभार :

 

नक्साल, सम–मार्ग। घर नम्बर ८०७।
प्रहरी प्रधान कार्यालय पश्चिमतर्फ यो भव्य महलको माथिल्लो तलामा बस्थे अमेरिकी नागरिक इयान बेकर।
उनको घर छिर्ने जोकोही आश्चर्यले जिब्रो टोक्थे। अरूकहाँ जस्तो टेबलकुर्सी, सोफा र कृत्रिम सजावट सामग्री मात्र त्यहाँ थिएनन्। बगैंचादेखि भान्सा र बेडरुमसम्मको शोभा बढाउन प्रयोग गरिएका थिए, दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्िवक वस्तु।
डाइनिङ टेबलमुनि बाघको छाला। ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी। सोफामा चितुवाकै छालाबाट बनेका चकटी। बैठककोठामा त भण्डारै थियो, सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्म। घरका लुगाफाटो पनि जम्मै वन्यजन्तुकै अंगबाट बनेका थिए। बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्याङ्केट, बाकस, दाप, माला असरल्लै थिए।
बेकरले यस्तै सानसौकतका साथ प्रहरी–प्रशासनको उच्च ओहोदाका पदाधिकारी रिझाएर झन्डै २४ वर्ष नेपालमा बिताए।
एकदिन यस्तो समय आयो, बाघको छाला ओढेको इयानको महल तासको घरझैं गर्ल्यामगुर्लुम ढल्यो।
बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटोपहार र पुरातात्िवक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐनअनुसार अपराध गरिरहेका थिए। यी ऐनले वन्यजन्तु घरमा पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्िवक वस्तु राख्न निषेध गरेको छ।
प्रहरीले यिनै ऐन प्रयोग गर्दै २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सम्पूर्ण सामग्री कब्जामा लियो।
बेकर भने उम्किन सफल भए।
हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्िवक गरी १ सय २२ थान अवैध सामग्री बरामद गरेको थियो। यसमा बाघ, हिउँचितुवा, चितुवा, हार्बे, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नंग्रा र खप्पर थिए। सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए जुन अहिलेसम्मकै ठूलो परिमाण हो।
यो घटना हुँदा बेकरको उमेर थियो, ५५ वर्ष। अहिले उनी ६१ वर्षका भइसके।
उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ। नेपाल प्रहरी र इन्टरनेसनल पुलिस कर्पोरेसन (इन्टरपोल) ले ‘अवैध वन्यजन्तुका अंग’ संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरेका छन्।
र, बेकर अझै प्रहरीको फरार सूचीमै छन्।
कहाँ अलप भए त बेकर? के उनले दुर्लभ वन्यजन्तुका अंग तस्करी वा संग्रह गर्ने काम छाडे? छाडेका भए के गर्दैछन्?
यी प्रश्न लामो समय अनुत्तरित रहे। तर, पछिल्लो समय बेकर फेरि सल्बलाउन थालेका केही तथ्य फेला परेका छन्।
वन्यजन्तु अंगका सोखिन उनले अहिले पनि सक्रिय रूपले व्यवसाय गरिरहेको पाइएको छ, त्यो पनि इन्टरपोलका सदस्य राष्ट्रहरूमै बसेर। तिब्बतबारे सात पुस्तक लेखेका र त्यतिबेला ‘नेसनल जियोग्राफिक च्यानल’स“ग आबद्ध बेकर अहिले थाइल्यान्डबाट ‘रेयरजर्नी डटकम’ नामक वेबसाइट चलाइरहेका छन्। यसमा बेकरको सह–लगानी रहेको र सांस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरिरहेको वेबसाइटमै उल्लेख छ। पदयात्रामा रुचि राख्नेलाई मानसरोवरलगायत अन्य तिब्बती क्षेत्र डुलाउने काम यसले गरिरहेको छ। बेकरकै व्यक्तिगत फेसबुकबाट पनि उनले पदयात्रु टोलीलाई तिब्बतको मानसरोवर घुमाएको पुष्टि हुन्छ।
उनले दुई आइडीबाट फेसबुक चलाइरहेको पाइएको छ– ‘इयान बेकर’ र ‘इयान बेकर जर्नी’। पहिलो आइडीको टाइमलाइनमा कुनै अपडेट छैन। नयाँ स्ट्याटस र तस्बिर केही छैन। बायोडाटा र प्रोफाइल फोटो मात्र राखिएको छ।
दोस्रो आइडी भने यही भदौ ३० सम्म अपडेट छ। उनले पछिल्लो स्ट्याटसमा एउटा ठूलै समूहलाई तिब्बतको मानसरोवर घुमाउने अभियान पूरा भएकोमा प्रसन्नता व्यक्त गरेका छन्। मानसरोवर पुगेका समूहस“ग खिचेको सामूहिक तस्बिर पनि राखिएको छ, जसमा उनी आफैं पनि छन्। यसअघि २०७० कात्तिक २६ गते मानसरोवर घुम्न चाहनेका लागि विज्ञापन गरेका थिए।
‘रेयरजर्नी डटकम’ वेबसाइटमा उनले आफ्नो इमेलबाहेक अन्य ठेगाना समावेश गरेका छैनन्। तिब्बती तस्बिर, कला र कृति भने प्रशस्तै अपलोड गरेका छन्।
यो वेबसाइट र फेसबुक आइडीले वन्यजन्तुको अंग संकलन अभियोगमा फरार बेकर चीन र थाइल्यान्डमा सक्रिय रहेको देखाउँछ। वन्यजन्तुका अंग र पुरातात्िवक महत्वका वस्तुसहित काठमाडौंमा सानसौकतको जीवन बिताएका अमेरिकी नागरिक बेकर कहिले तिब्बत त कहिले थाइल्यान्डको राजधानी बैंकक घुम्दा पनि उनलाई न इन्टरपोलले पक्राउ गर्न सकेको छ, न नेपाल प्रहरीले।
प्रहरीका एक अधिकारीले बेकरलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय रूपमा अपिल गरिए पनि उनी कतै देखा नपरेको बताए। पछिल्लो समय ‘रेयरजर्नी डटकम’ र फेसबुक आइडीमा नियमित स्ट्याटस अपडेट भएको फेला परेपछि भने प्रहरी अनुसन्धान टोली चनाखो बनेको छ। यसै आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाइरहेको स्रोतले बतायो।
‘बेकर थाइल्यान्डमा रहेको आशंका हामीलाई पहिल्यै थियो, उनको फेसबुक र वेबसाइटले त्यो शंकामा थप बल पुगेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नागरिकसँग भने, ‘हामी अब इन्टरपोलमार्फत सम्बन्धित देशका प्रहरीसँग समन्वय सुरु गर्छौं।’ तिब्बतमा प्रहरीको खासै सक्रियता नभएकाले पनि बेकर यी गतिविधि गर्न सफल भएको हुनसक्ने उनले बताए।
केही प्रहरी अधिकारी भने बेकर अमेरिकामै रहेको दाबी गर्छन्। ‘हामीलाई प्राप्त सूचनाअनुसार उनी अमेरिकामै देखिएका छन्,’ स्रोतले भन्यो, ‘यो सूचना अमेरिकी प्रशासनलाई थाहा छ कि छैन, भन्न सकिन्न।’
यही आधारमा नेपाल प्रहरीले अमेरिकी प्रहरीको इन्टरपोल सेक्सनस“ग पटक–पटक कुरा गरिसकेको छ। एक महिनाअघि मात्र अमेरिकी इन्टरपोलसँग यसबारे एक चरणको वार्ता भएको स्रोतले बतायो। ‘हामीले इन्टरपोलमार्फत अपिल गरेका छौं,’ स्रोतले भन्यो, ‘अमेरिकी इन्टरपोललाई समेत सहयोगका लागि आग्रह गरिरहेका छौं।’
अमेरिकामै फेला परे पनि सुपुर्दगी सन्धि नभएकाले यहाँ फर्काएर ल्याउन गाह्रो पर्ने उनले बताए। तर, कारबाहीको दायरामा ल्याउने अर्को उपाय छ– अपराधको प्रकृतिअनुसार अमेरिकामै सजाय दिने। एक महिनाअघिको छलफलमा यसैबारे कुराकानी भएको स्रोतले बतायो।
छ वर्षदेखि फरार एक अभियुक्तको विषयमा अहिलेसम्म अनुसन्धान कुनै निष्कर्षमा पुगिसकेको छैन। खालि उनको फेसबुक र वेबसाइटबाट यत्ति पत्ता लागेको छ, उनी निष्त्रि्कय छैनन्। यसैलाई पहिल्याउँदै बेकरसम्म पुग्ने ध्याउन्नमा छ प्रहरी। यसमा नेपालको आशा केही हदसम्म इन्टरपोलमाथि नै टिकेको छ।
इन्टरपोल हेडक्वार्टरले वातावरणीय अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न ठूलो अपरेसनको तयारी गरिरहेको जानकारी दिँदै एक उच्च प्रहरी अधिकारीले भने, ‘यसले हाम्रो अनुसन्धानमा थप सहयोग पुग्नसक्छ।’
कुनै समय बाघको छालामा रजाइँ गरेर बसेका बेकरका कर्तुत पर्दाफास हुँदा र अहिलेको समयमा एउटा संयोग छ। त्यतिबेला महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका उपेन्द्रकान्त अर्यालकै सक्रियतामा बेकरको घरमा छापा मारिएको थियो। उनै अर्याल अहिले प्रहरी महानिरीक्षक छन्।
र, यतिखेर लामो समय अन्धकारमा रुमिल्लरहेको प्रहरीसामु आशाको सानो किरण फेला परेको छ। त्यही किरणलाई पछ्याउँदै उज्यालोसम्म पुग्ने चुनौती बेकर काण्डको नालीबेली बुझेका आइजिपी अर्यालसामु छ।

एक्लै छैनन् बेकर

ian baker2

अमेरिकी नागरिक इयान बेकर दुई जना सहयोगी राजेश महर्जन र निर्मला रानामगरस“ग नक्सालको घरमा बस्थे। त्यसमध्ये महर्जनले बालुवाटारस्थित घरमा अवैध वस्तु राखेको सूचनाकै आधारमा प्रहरी अपरेसन सुरु भएको थियो।
सुरुमा ललितपुर प्रहरीले हनुमानढोकास्थित महानगरीय प्रहरी अपराध महाशाखालाई सूचना दियो। यही आधारमा महाशाखाका तत्कालीन डिएसपी शेरबहादुर बस्नेत नेतृत्वको टोलीले २३ वर्षीय महर्जनलाई २०६५ जेठ ४ गते बालुवाटारबाट पक्राउ गर्योि। उनीसँग आखेटोपहार र पुरातात्विक गरी ६५ थान अवैध वस्तु फेला परे। महजर्नले ती वस्तु बेकरका लागि संकलन गरेको र मुख्य व्यक्ति उनै भएको बयान दिए।
अनि बल्ल बेकर बसेको नक्सालस्थित घरको पहिलो तलामा छापा मारियो।
बेकर फरार भए पनि उनले आफ्ना सहयोगी महर्जनलाई छुटाउने कोसिस भने सुरुमै गरेका थिए। उनले न्युयोर्कबाटै अर्का सहयोगीमार्फत प्रहरीको माथिल्लो तहमा सम्पर्क गरी ‘बरामद सबै वस्तु आफैंले संकलन गरेको’ स्वीकार गरेका थिए। भनेका थिए, ‘सबै वस्तु मेरै हुन्, राजेश निर्दोष छन्, उसलाई छाडिदिनू।’
बेकरसहित रेड कर्नर नोटिसमा अर्का नेपाली पनि छन्– चितवन, कोराक गाविस–९ का राजकुमार प्रजा। उनीमाथि गैंडा मारेर खाग बिक्री गरेको अभियोग छ। उनी नक्कली नागरिकता देखाएर नया“ राहदानी बनाई मलेसिया गएको प्रहरी अनुमान छ। यसैका भरमा मलेसियाको इन्टरपोलसँग सम्पर्क गरिएको थियो। इन्टरपोलले भने त्यस्तो व्यक्ति कतै नदेखिएको जवाफ पठायो।
बेकर र प्रजा त रेडकर्नर नोटिसमा परेका व्यक्ति मात्र हुन्, वन्यजन्तुको चोरीसिकार र आखेटोपहारको ओसारपसारमा संलग्न मुद्दा चलाइएका दुई सयभन्दा बढी व्यक्ति अहिले पनि फरार छन्। उनीहरूलाई प्रहरीसहित वन प्रशासनले खोजिरहेको छ।
दुर्लभ वन्यजन्तुको सिकार र अंग ओसारपसारसम्बन्धी अपराधमा संसारमै चौथो नम्बरमा पर्छ, नेपाल। केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गतको वातावरणीय अपराध पिलरका प्रमुख सविन प्रधानका अनुसार यो अपराधमा चार तहका व्यक्ति सक्रिय छन्।
पहिलो, तालिमप्राप्त सिकारी। दोस्रो, हतियार, गोलीगठ्ठा र स्थान व्यवस्थापन गर्ने मान्छे। तेस्रो, ट्रान्जिट प्वाइन्टमा पुर्यािउने भरिया। र, चौथो, त्यसलाई देशबाहिर लैजाने व्यक्ति।
‘नेपाल अहिले त्यस्ता वस्तुको स्रोत भएको छ र ट्रान्जिट पनि बनेको छ,’ उनले भने।
नेपालका संरक्षित क्षेत्रका दुर्लभ र सुलभ जन्तु सिकारीको निसानामा परेको उनी बताउँछन्। यहीँका जन्तु मारेर तिनका अंग पनि ओसारपसार भएको छ। भारतमा मारिएका वन्यजन्तुका अंग पनि नेपाललाई ट्रान्जिट बनाएर तिब्बत हुँदै चीन तस्करी भइरहेको छ।
यी दुई मुलुक क्षेत्रफलका हिसाबले पनि ठूला छन् र स्रोत त्यत्तिकै छ। पछिल्लो समय चीनबाट सुन, चिरुको रौंलगायत वस्तु भारत तस्करी भइरहेको छ भने त्यताबाट वन्यजन्तुका अंगलगायत रक्तचन्दनजस्ता काठ तस्करी भएर तिब्बत गइरहेको छ। यस्ता वस्तुको कारोबारमा संलग्न व्यक्ति हेर्दा नेपालीपछि चिनिया“ नागरिको संख्या बढी देखिने प्रधान बताउँछन्।
उनका अनुसार चीनमा यस्ता वस्तुको सांस्कृतिक महत्व बढी छ। यसबाट परम्परागत औषधि धेरै बनाइन्छ। ‘यस्तो अपराधलाई जरैबाट नियन्त्रण गर्ने हो भने माग र आपूर्ति पूर्ण बन्द गर्न सक्नुपर्छ,’ उनले भने, ‘बरामदको निश्चित समयमा मुद्दा फैसला भएपछि नष्ट गर्नुपर्ने व्यवस्था पनि तत्काल ल्याउनुपर्छ।’
संसारभर आखेटोपहार नष्ट गर्ने अभियान सुरु भएको छ। नेपालमा भने अहिलेसम्म भण्डार गरेर राख्ने चलन छ। चितवनको टिकौली र कसरामा बरामद गरिएका ठूलादेखि साना दुर्लभ र सुलभ सबै किसिमका वन्यजन्तु अंग भण्डारण गरिएका छन्। भण्डारण गरिएका वस्तुको सुरक्षा चुनौती पनि त्यत्तिकै छ। झन्डै एक दशकअघि टिकौलीमा तत्कालीन वनमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा त्यस्ता वस्तु जलाइएका थिए।
सिकारी, भरिया र निर्यातकर्ताको गतिविधि घटनापिच्छे परिवर्तन हुनु पनि प्रहरीका लागि टाउकोदुखाइ बनेको छ। ब्युरोका अनुसार उनीहरूको आवतजावत गर्ने मार्ग, भण्डारण गर्ने स्थान फेरबदल भइरहन्छ। काठमाडौंको अवस्था हेर्दा गोंगबु, महाराजगन्ज र बौद्धमा यस्ता अपराध धेरै भेटिएका छन्। उपत्यकाबाहिर पोखरा, हुम्ला, बझाङ, दार्चुलालगायत जिल्ला भण्डारण र तस्करीको केन्द्र बनेको प्रहरी अनुसन्धानले देखाएको छ।
संरक्षणमा सक्रिय सुरक्षाकर्मी र अधिकारीका अनुसार पक्राउ परेर जेल सजाय भोगेका व्यक्तिसमेत फेरि यही अपराधमा फर्किएका उदाहरण छन्। यो वर्ष अब्राहम संरक्षण पुरस्कार पाएका प्रमुख सेनानी चक्रबहादुर शाहले पक्राउ परेर सजाय भोगेका सिकारी र तस्करसमेत पुनः यही कारोबारमा सक्रिय भएको बताएका थिए।
शाह चितवन निकुञ्जको श्री नन्दाबक्स गणका गणपति थिए। उनको पालामा वन्यजन्तु मारिने क्रम स्वात्तै घटेको थियो। ‘वन्यजन्तुको चोरीसिकार नियन्त्रण र आखेटोपहार रोक्न नया“ प्रविधिका साथै कानुन अझ मजबुत बनाउनुपर्छ,’ उनले भने।

अधिकार कार्यान्वयनको लडाइँ
सरकारले निकुञ्ज र आरक्षको संरक्षण जिम्मा सेना र निकुञ्ज प्रशासनलाई दिएको छ। निकुञ्ज आरक्षको प्रभावित क्षेत्रलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको छ। यी क्षेत्रका वन्यजन्तु वा वनस्पतिसम्बन्धी सबै अपराध नियन्त्रणको जिम्मेवारी यी निकायले लिन्छन्।
अपराधी पक्राउ गर्ने, मुद्दा चलाउने र त्यसको फैसला यिनैले गर्छन्। संरक्षण क्षेत्रभित्र हुने अपराध पनि वन्यजन्तु प्रशासनले नै हेर्छ। यी सबै निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत छन्। निकुञ्ज प्रशासनलाई अर्धन्यायिक निकायका रूपमा सबै काम गर्ने अधिकार दिइएको छ। यो प्रावधानको प्रभावकारितामै पनि बारम्बार प्रश्न उठ्ने गरेका छन्।
यी क्षेत्रबाहिरका सबै काम वन विभागअन्तर्गतका वन कार्यालयले नै गर्नुपर्छ। अपराधी पक्राउ गर्ने काममा विशेषगरी नेपाल प्रहरी सक्रिय छ। त्यस्ता अपराधीलाई पक्राउ गरेर मुचुल्का तयार पारी २४ घन्टाभित्र वन प्रशासनमा बुझाउनुपर्ने व्यवस्था छ। ‘निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रबाहिरको अपराध नियन्त्रण प्रभावकारी भएको देखिँदैन, सरोकारवाला निकायबीच त्यति तालमेल भएको पाइँदैन,’ विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु व्यापार अनुगमन इकाई प्रमुख दिवाकर चापागाईंले भने।
वन विभाग प्रशासनले वन्यजन्तु अपराधमा सन्तोषजनक काम गर्न नसकेको उनी बताउ“छन्। ‘वन विभाग वन जोगाउने र वनस्पतिको अवैध व्यापारमा मात्र केन्द्रित छ,’ उनले भने, ‘त्यसैले संरक्षित क्षेत्रबाहिर हुने वन्यजन्तु अपराध नियन्त्रण अपेक्षाकृत हुन नसकेको हो।’
वन्यजन्तु प्रशासनलाई अपराधी पक्राउ गर्ने, अनुसन्धान गर्ने र फैसला गर्ने सबै अधिकार नदिन उनले सुझाएका छन्। उनको सुझावमा मुद्दाको फैसला मात्र होइन, न्यायपूर्ण फैसला गर्न ‘टि्रब्युनल कोर्ट’ बनाउनुपर्छ। जसको इजलासमा संरक्षित क्षेत्रका प्रमुख, प्रमुख जिल्ला अधिकारी, यस क्षेत्रका विज्ञलगायत सहभागी हुनुपर्छ। अहिले वार्डेन र डिएफओले आफूअन्तर्गतका कर्मचारीलाई अनुसन्धान अधिकारी तोक्छन् र उनले तयार पारेको मिसिलका आधारमा फैसला गर्छन्।
‘हाम्रो काममा सरोकारवाला निकायबीच समन्वय अभाव छैन तर यो अपराध नियन्त्रणमा कहाँ, कतै, केही नमिलेजस्तो भएको छ,’ केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख हेमन्त मल्ल भन्छन्, ‘यसको अनुसन्धानमा हामी संलग्न हुँदैनौं। हामीले पक्राउ गरी २४ घन्टाभित्र मुचुल्कासहित वन कार्यालय र संरक्षित क्षेत्रका कार्यालयलाई बुझाउने मात्र हो।’
कोषका चापागाईंका अनुसार वन ऐन २०४९ ले प्रहरी र सेनालाई समेत अनुसन्धान र मुद्दा दर्ता गर्ने अधिकार दिएको छ। ‘वन प्रशासनले भने यो अधिकार प्रयोग गर्न प्रहरीलाई दिइरहेको छैन,’ उनले भने, ‘यही कारणले प्रहरीले पूर्ण रूपले काम गर्न नपाएको हो।’

कानुनमा के छ?
– दुर्लभ वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) ले दुर्लभ वन्यजन्तु अंगको व्यापार, ओसारपसार र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ
– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कुनै पनि वन्यजन्तु मार्ने, घाइते बनाउने, व्यापार गर्ने, आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्रि गर्ने व्यक्तिलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था गरेको छ
– प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पांचौ संशोधन) ले प्राचीन स्मारक नष्ट गरे, भत्काए वा परिवर्तन गरे वा चोरी गरे २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था गरेको छ

courtesy: nagariknews.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.