विषाक्त रक्सी कारोबारीलाई कर्तव्य ज्यान मुद्दा

Posted: September 16, 2013 in By Deepak Kharel

दीपक खरेल

‘रक्सी बनाउन मरेका जीवजन्तुका छाला, हाड र मलमूत्र’, ‘रक्सी सेवनले सातजनाको मृत्यु’ ,‘नक्‍कली रक्सी सेवनले आँखाको ज्योति गुम्यो’ र ‘विषाक्त रक्सीका कारण तीनजनाको मृत्यु।’ नेपाली छापामा सामान्य बन्दै गएका असामान्य घटनाका शीर्ष समाचारका केही शीर्षक हुन् यी।

२०६५ माघमा सिलबन्द रक्सी खाँदा ६ जनाले आँखाको ज्योति गुमाए। त्यसैबेला रौतहटमा विषाक्त रक्सीकै कारण चारजनाको मृत्यु भयो। त्यसपछि प्रहरीले राजधानीमा सञ्‍चालित आधा दर्जन नक्‍कली मदिरा उद्योगमा छापा मार्‍यो, नक्‍कली मदिरासहित उद्योगका सञ्‍चालक र सहयोगी पक्राउ परे। प्रहरीले कारबाहीमा केहीलाई अन्त: शुल्क कार्यालयमा बुझायो, केहीलाई सार्वजनिक अपराधमा मुद्दा चलाएर कारबाहीबाट उन्मुक्ति दियो।

विषाक्त मदिरा सेवनका पीडित निम्न वर्गका मजदुर हुने भएकाले कारोबारी सधैं कारबाहीबाट बच्‍न सफल हुने प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले बताए। ‘पीडितले उजुरी नगरे प्रहरीलाई कारबाही गर्ने आधार रहँदैन’, उनले भने, ‘यसबारे बहस जरुरी छ।’

लोकगायक तीर्थ गन्धर्व विषाक्त रक्सीकै सिकार भए। अस्पतालमा छटपटाइरहेका उनका ज्वाइँ रामजी गन्धर्व जीवन र मृत्युको दोसाँधमा छन्। यसैगरी सूर्य परियारका परिवारले चन्दा उठाएर उनको शव अस्पतालबाट आर्यघाटसम्म लैजानुपर्‍यो। शनिबार सूर्य परियारसँगै बसेर विषाक्त रक्सी खाएका ओखलढुंगाका फत्तेबहादुर दर्जीको पनि वीर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो।

प्रहरी प्रवक्ता सिलवाल सस्तो बनाउने होडमा अवैध मदिरा उद्योग सञ्‍चालकले विषाक्त रक्सी बनाइरहेको बताउँछन्। उनी भन्छन्, ‘अखाद्य वस्तुबाट मदिरा बनाउने र त्यसलाई कुहाउन युरिया र स्प्रिटको अत्याधिक प्रयोग हुँदा मदिरा विषाक्त हुने गरेको हो।’ विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएका अधिकांश नमुनामा मिथानोल र एमोनिया क्लोराइड भेटिएको सिलवालले बताए।

घटनामा मानिसको मृत्यु भएमा मात्र प्रहरीले थप कारबाही प्रक्रिया अगाडि बढाउँछ अन्यथा बरामद मदिरा नष्ट गर्ने र कारोबारीलाई अन्त:शुल्क कार्यालयमा बुझाउनेबाहेकको कारबाही हुँदैन। यही कारण राजधानीमा विषाक्त मदिरा उत्पादक दण्डमुक्त मात्रै भएका छैनन्, उनीहरूको संख्या पनि बढेको छ।

आर्थिक वर्ष २०६९/०७० मा १९ हजार नौ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको महानगरीय प्रहरी वृत्त बौद्धले यस आर्थिक वर्षको सुरुका दुई महिनामा नौ सय ६५ लिटर नष्ट गरेको छ। घटनामा पक्राउ परेका २५ जनाबाट चार लाख रुपैयाँ असुली भएको वृत्तले जनाएको छ।

बौद्ध क्षेत्रमा बनाइने मदिरा कारखानाबाट प्रहरीले अखाद्य वस्तुमात्र होइन विषालु पदार्थसमेत बरामद गरेको छ। प्रहरी वृत्त नयाँबानेश्वरले शनिबार छापा मारेको सबिता खाजाघरमा बरामद मदिरासमेत बौद्ध क्षेत्रबाट आएको बयान त्यसका सञ्‍चालकले दिएका छन्। प्रहरी नायब उपरीक्षक रेवती ढकाल भन्छन्, ‘पक्राउ अभियुक्तलाई विधिविज्ञान प्रयोगशालाको रिपोर्ट नआउँदासम्म सार्वजनिक मुद्दामा म्याद थप गरिनेछ।’

विषाक्त रक्सीले चारजनाको मृत्यु भएपछि प्रहरीले यसका कारोबारीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको सिलवालले बताए। ‘बेच्‍ने र बनाउने दुवैलाई मतियारका रूपमा कर्तव्य ज्यान मुद्दा चल्छ’, सिलवालले भने। काठमाडौंमा बिहीबारदेखि विषाक्त रक्सी खाँदा चारजनाले ज्यान गुमाएका छन्। विषाक्त रक्सीकै कारण ब्लु क्रस अस्पतालमा उपचाररत सूर्य परियारको आइतबार मृत्यु भयो।

विषाक्त रक्सी खनाएका रामजी गन्धर्व बल्खुस्थित बयोधा अस्पतालमा छटपटाइरहेछन्। रामजीको अवस्था अत्यन्त गम्भीर रहेको पारिवारिक स्रोतले बतायो। शुक्रबार वीर अस्पतालमा युवराज गन्धर्व र सैनिक अस्पताल छाउनीमा लोकगायक तीर्थ गन्धर्वको मृत्यु भएको थियो। त्यस्तै बिहीबार राति अचेत अवस्थामा भेटिएका चतुरे नामले चिनिने एक व्यक्तिको सिभिल अस्पतालमा मृत्यु भएको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.