राजधानीमै विषाक्त रक्‍सी, तीनजनाको मृत्यु

Posted: September 16, 2013 in By Deepak Kharel

गायक तीर्थ गन्धर्व यसैको सिकार

gandarva-pariwar

दीपक खरेल/रूपेश आचार्य

राजधानीमा विषाक्त रक्सीका कारण तीन दिनभित्र तीनजनाको मृत्यु भएको छ। बिहीबार निधन भएका लोकगायक तीर्थ गन्धर्व पनि विषाक्त रक्सीकै सिकार भएको खुलेको छ। विषाक्त रक्सी खाएका धेरै व्यक्ति गम्भीर बिरामी परेका छन्।

प्रहरीका अनुसार गायक गन्धर्वको अन्त्येष्टिमा सहभागी हुन लमजुङबाट आएका आफन्तमा र उनमा देखिएको स्वास्थ्य समस्या उस्तै रहेको पाइएपछि उनी विषाक्त रक्सीकै सिकार भएको खुलासा भएको हो।

विषाक्त रक्सी सेवन गरेपछि गम्भीर बिरामी भएका गन्धर्वलाई बिहीबार सुरुमा नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ शय्या खाली नभएपछि उनलाई सैनिक अस्पताल छाउनी लगिएको थियो। उनको प्रारम्भिक स्वास्थ्य परीक्षणमै विषाक्त रक्सी सेवनको लक्षण देखिएको सिभिल अस्पतालले जनाएको छ।

गायक गन्धर्वका आफन्त तनहुँका युवराज गन्धर्व र रामजी गन्धर्वलाई समेत प्रहरीले विषाक्त रक्सी खाएर अचेत भएको अवस्थामा बानेश्वर क्षेत्रमा शुक्रबार राति फेला पारेको थियो। उनीहरू गायक गन्धर्वको अन्त्येष्टिमा सहभागी हुन काठमाडौं आएका थिए।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले शुक्रबार राति बानेश्वर पानीट्यांकी नजिक अचेत अवस्थामा युवराज र रामजीलाई फेला पारेर अस्पताल पुर्‍याइएको बताए। सिभिल अस्पतालमा शय्या नभएपछि दुवैलाई वीर अस्पताल लगिएको थियो। युवराजको शनिबार बिहान वीरमा उपचारका क्रममा मृत्यु भएको छ।

वीरबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका रामजीको सघन उपचार कक्षमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको डीएसपी ढकालले बताए। रामजी गायक गन्धर्वका ज्वाइँ हुन्।

सोही क्षेत्रमा अचेत भेटिएका चतुरे नामले चिनिने एक व्यक्तिको सिभिल अस्पतालमा शुक्रबार नै मृत्यु भएको थियो। त्यस्तै बिहीबार नै विषालु रक्सीका कारण गम्भीर बिमारी भएका ओखलढुंगाका सूर्य परियारलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालको भेन्टिलेटरमा राखिएको छ। अस्पतालकी चिकित्सक वन्दना ठाकुरले जति प्रयास गरे पनि उनलाई बचाउन सक्ने अवस्था नरहेको बताइन्।

राजधानीमा बसेर मजदुरी गर्दै आएका सूर्यको उपचार गर्दा लागेको खर्च तिर्न नसकेपछि शनिबार रातिसम्म भेन्टिलेटरमै राखिएको उनका आफन्त जीवन परियारले बताए। उनले भने, ‘साथीभाइ र आफन्तले एकदुई हजार गरेर १७ हजार जम्मा गरेका छौं, अस्पताललाई ४७ हजार तिर्न बाँकी छ। अब कसरी तिर्ने हो थाहा छैन।’ शनिबार सूर्यका बाबु र दाजु ओखलढुंगाबाट काठमाडौं आइपुगेका छन्।

चिकित्सक ठाकुरले सूर्यको स्वास्थ्य परीक्षणका क्रममा मिथायल अल्कोहल देखिएको बताइन्। उनका अनुसार मिथायल अल्कोहल सेवन गरेका व्यक्तिमा आँखा नदेख्ने, पेट दुख्ने र शरीरमा बिस्तारै एसिडको मात्रा बढ्ने लक्षण देखिन्छ। ‘घरेलु रक्सीमा स्प्रिट र युरियाको मात्रा बढी हुँदा त्यस्तो रक्सी पिउनेलाई यस्तो समस्या देखिन्छ’, उनले भनिन्।

सिभिल अस्पतालमा शनिबार साँझ उपचार गराउन आएका रामकृष्ण भट्टराई पनि विषाक्त रक्सी सेवनकै कारण बिरामी भएको पाइयो। ‘आँखा देख्न अप्ठ्यारो भएको छ, छटपटी भइरहेको छ’, अस्पतालको इमरजेन्सीमा उपचार गराइरहेका भट्टराईले भने, ‘दुई गिलास लोकल खाएको थिएँ।’

प्रहरीले विषाक्त रक्सी सेवनबाट भएको मृत्युका सम्बन्धमा अनुसन्धान थालेको छ। प्रहरीले शनिबार बानेश्वरमा रहेको म्याग्दी खाजाघरका सञ्चालक प्रेमबहादुर अर्मजा, किराना पसलमा रक्सी बेच्ने इन्द्रबहादुर श्रेष्ठ र थापागाउँस्थित सबिता खाजाघरमा छापा मारेर सयौं लिटर रक्सी बरामद गरेको छ।

घटना भएको रात गन्धर्वत्रयले म्याग्दी खाजाघरमा रक्सी खाएका थिए। प्रहरीले उक्त खाजाघरबाट रक्सी बरामद गरेको छ। ‘बरामद रक्सीको नमुना परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउँछौं’, डीएसपी ढकालले भने।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक हेमन्त पालले घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घरेलु रक्सी बेचबिखन हुने स्थानमा छापा मारेको बताए। उनले विषाक्त रक्सीको सिकार निम्न वर्गका मजदुर बढी हुने भएकाले बिरामी भएकाको यकिन तथ्यांक नआएको बताए। ‘अहिलेसम्म तीनजनाको मृत्यु भएको छ, अन्यको अवस्था पनि गम्भीर छ’, पालले भने।

गत बुधबार पाकिस्तानमा यस्तै विषाक्त रक्सी सेवनका कारण १२ जनाको मृत्यु भएको थियो।

सस्तो पदार्थ मिसाउँदा विष बन्छ रक्सी

उत्पादन लागत कम गर्न इनामेलमा मिसाइने स्प्रिटलगायतका पदार्थ मिसाउँदा रक्सी विषाक्त बन्ने विज्ञले बताएका छन्। औषधि व्यवस्था विभागका पूर्वनिर्देशक भूपेन्द्र थापाले सावधानीबिना र कम लागतमा बनाइने रक्सी बढी नशालु बनाउन एमोनियम क्लोराइडजस्ता पदार्थ मिसाउँदा विषाक्त हुने बताए।

थापाका अनुसार सामान्य प्रक्रियाअनुसार रक्सी बनाउन इथायल तत्त्व मिसाउनुपर्नेमा मिथायल तत्त्व मिसिएपछि यसले घातक असर गर्छ। घरेलु प्रविधि प्रयोग गरी घरमै बनाइने मदिरामा भने मिथायल नभेटिने उनले बताए। ‘नाफामुखी सोचका साथ सस्ता पदार्थ प्रयोग गरेर बनाइने रक्सी भने मिथायल अल्कोहलमा परिणत हुन सक्छ’, उनले भने।

अर्का औषधिविज्ञ बाबुराम हुमागाईंका अनुसार सेवन गरिएको रक्सीमा एक सय मिलिलिटरभन्दा बढी मिथायल तत्त्व भएपछि घातक परिणाम देखिन थाल्छ। मिथायल अल्कोहल खाएमा मानिसको स्नायु प्रणालीमा असर गर्न थाल्छ। सामान्यतया यसको पहिलो असर आँखामा देखिन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.