दीपक खरेल
क्रिकेटका साना तथा ठूला प्रतियोगितामा हारजितको पूर्वानुमान गरेर जुवा खेलाउने मुख्य नाइके भारतीय नागरिक निर्मल जैन दुई सातादेखि काठमाडौंमा छन्।
भारतीय प्रहरीले क्रिकेटमा हुने सट्टाबाजविरुद्ध कडाइ गरेपछि जैन काठमाडौंमा बसेर धन्धा चलाइरहेको स्रोतको दाबी छ। जैन काठमाडौंका सट्टाबाज विनोदकुमार उप्रेती र नागराजसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ। स्रोतका अनुसार उप्रेतीले होटेल र्याडिसन र नागराजले कमलपोखरीको सिटी सेन्टरस्थित सिनेमा घरलाई सट्टाबाजीको अखडाका रूपमा प्रयोग गर्दै आएका छन्। समूहले देशभरका सट्टाबाजसँग समन्वय गरी क्रिकेट प्रतियोगिताका हारजितमा जुवा खेलाइरहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई आश्रयस्थलका रूपमा प्रयोग गर्दै भारत, दुबई र पाकिस्तानका सट्टाबाजले धन्धा चलाउने गरेको पाइएको छ। नेपालमा रहेका बुकी (जुवाका लागि पैसाको लेनदेन गर्ने व्यक्ति) उप्रेती, नागराज, कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल वाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्तिले जैनकै इसारामा काम गर्दै आएको दाबी स्रोतको छ।
आर्थिक प्रलोभन र चिनजानका कारण प्रहरी भने उप्रेती र नागराजलाई बचाउन क्रियाशील छन्। ‘पोखरेल थरका एक प्रभावशाली डीएसपी उप्रेतीका भिनाजु हुन्। उप्रेती र नागराजलाई बचाउने सेटिङ उनैले मिलाउँदै छन्’, स्रोतले भन्यो।
अनुसन्धानमा जुटेका केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले पनि घटना सामान्य बनाउने प्रयास गरेका छन्। अपराध महाशाखा हनुमाढोकाका प्रमुख विजयलाल कायस्थले घटनाबारे प्रमाण संकलन गर्न कठिन भएको बताए। ‘अनुसन्धामा जुटेका छौं तर कारबाही गर्न कानुन छैन’, उनले भने। सट्टाबाजीको गिरोह पक्राउ परे पनि प्रहरीले जुवा ऐनअन्तर्गत कारबाही चलाउनुपर्ने बाध्यता रहेको कायस्थले बताए।
यस वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालबाट ४६ करोड रुपैयाँ हुन्डीमार्फत बाहिरिएको थियो। काठमाडौंका बुकी विनोद उप्रेती र नागराजका विषयमा महानगरीय प्रहरी परिसर हनुमानढोका र अपराध महाशाखाका प्रहरीसँग सूचना रहे पनि अहिलेसम्म दुवै निकायले कारबाही प्रक्रिया अगाडि नबढाएकाले प्रहरी नै शंकाको घेरामा परेको छ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआइजी प्रकाश अर्यालले पनि घटनाबारे अनभिज्ञता देखाउँदै आएका छन्। अन्नपूर्ण पोस्ट्ले भदौ २ गतेको अंकमा क्रिकेटमा भइरहेको अर्बौंको जुवाबारे खबर प्रकाशित गरेपछि प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले महानगरीय आयुक्त कार्यालय र ब्युरोलाई प्रमाण जुटाउन निर्देशन दिएका थिए।
प्रहरी कारबाही फितलो
प्रहरी महानिरीक्षक कुवेरसिंह राना उपरीक्षक भएर तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा रहँदा पहिलोपटक क्रिकेटका अन्तर्राष्ट्रिय बुकीलाई पक्राउ गरेका थिए। त्यसबेला जुवा ऐनमा कारबाही चलाइएकाले पक्राउ पर्नेहरू सामान्य धरौटीमा रिहा भएका थिए। काठमाडौंका तत्कालीन प्रमुख ढकबहादुर कार्कीले होटेल सोल्टीबाट नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय बुकीको समूहलाई ४५ लाख रुपैयाँ घूस लिएर छाडेको आरोप लागेको थियो।
विराटनगरबाट एसपी प्रद्युम्न कार्कीले गत वैशाखमा क्रिकेट खेलमा बाजी खेलाउँदै गरेको अवस्थामा अंशु जैन, कविता जैन र जेपी नारायणलाई पक्राउ गरेका थिए। तर जैन परिवार र बुकीका लागि त्यस क्षेत्रमा कुख्याति कमाएका आधा दर्जन व्यक्तिबारे सूचना हुँदाहुँदै मोरङ प्रहरी र एसपी कार्कीले कारबाही भने गरेनन्।