चूडामणि भट्टराई
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपित रामप्रसाद अधिकारी पक्राउ गरिए पनि सोही प्रकरणमा चर्चामा आएका अर्का एकजनालाई भने राज्यले सुरक्षा गार्ड उपलब्ध गराएको पाइएको छ। कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामायाले ४७ दिन लामो भोकहडताल गरेपछि एमाओवादीका कार्यकर्ता रामप्रसादलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेर रातारात चितवन पुर्याएको थियो।
कृष्णप्रसाद हत्याकी आरोपी जानुका पौडेल
पीडित परिवारले हत्यामा प्रत्यक्ष संलग्न भएको दाबी गर्दै आएकी जानुका पौडेललाई भने राज्यले हबलदार दर्जाको सुरक्षा गार्ड दिएको छ। कुनै पनि उच्च सरकारी निकायमा नरहेकी पौडेललाई चन्द्रकुमारी रौतार नामकी महिला प्रहरी हबलदारले सुरक्षा दिइरहेकी छन्। भीआईपीको सुरक्षा प्रबन्ध मिलाउने नेपाल प्रहरीको सुरक्षा महाशाखा स्रोतका अनुसार कृष्णप्रसाद हत्याकाण्डबारे राष्ट्रिय स्तरमा आवाज उठ्न थालेपछि जानुकालाई प्रहरीले सुरक्षा दिएको हो। पीडित परिवारले जानुका मुख्य अभियुक्त भएको बताउँदै आएको छ। कृष्णप्रसादका दाजु नूरप्रसादले केही साताअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानुकाले नै भाइ गोरखाबाट चितवन हिँडेपछि त्यहाँका माओवादी कार्यकर्तालाई मार्न आदेश दिएको दाबी गरेका थिए।
जानुकालाई सुरक्षाकर्मी उपलब्ध गराएर राज्यले संरक्षण गर्नुको कारण प्रहरीले दिन सकेको छैन। प्रहरीका उच्च अधिकारीले यसबारे प्रतिक्रिया दिनसमेत इन्कार गरे। कार्य विभागका प्रमुख एआईजी पुष्कर रेग्मीले भने, ‘यो अपराध अनुसन्धानतिरको विषय पर्यो, मैले थाहा नपाएको कुरा कसरी भनूँ?’ कसलाई सुरक्षा चुनौती छ र कसलाई सुरक्षा गार्ड उपलब्ध गराउने भन्ने विषयमा गृह मन्त्रालयद्वारा गठित कमिटीमा कार्य विभाग प्रमुखको हैसियतमा रेग्मी पनि सदस्य छन्। जानुकाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्।
सरकारले अनुसन्धान थाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको भोलिपल्ट एमाओवादी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू फौजी काममा कहिल्यै नखटिएको र घटनाताका सुत्केरी भएकाले संलग्न हुने अवस्थै नरहेको दाबी गरिन्। प्रहरीको उच्च तहलाई पटकपटक भेटेकी उनले आफ्नो सुरक्षाको माग गरेकाले उपलब्ध गराइएको स्रोतले बतायो। उनले नूरप्रसादले आफूलाई धम्की दिएकाले सुरक्षा पाउनुपर्ने जिकिर प्रहरीसमक्ष गरेकी छन्। स्रोतका अनुसार जानुकाको सुरक्षाका लागि एमाओवादी नेत्री हिसिला यमी प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको कार्यकक्षमा गएकी थिइन्।
सुरुमा प्रक्रिया मिलाउन हिसिलाका लागि एक सुरक्षाकर्मी थप्ने भनिए पनि जानुकालाई सुरक्षा दिने गरी महिला प्रहरी खटाइएको थियो। पछि उनकै नाममा रेकर्ड राखेरै हबलदार खटाइएको थियो। आठ मार्च सहकारी संस्थाकी प्रमुख जानुका एमाओवादी नेवा राज्य समितिकी सदस्यसमेत हुन्। एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला नियुक्त ४५ भन्दा बढी पीएमध्ये उनी अधिकृतस्तरकी थिइन्। उनलाई बालुवाटारमा खानपिनका सामान खरिदलगायतको जिम्मेवारी दिइएको थियो।
त्यसअघि नेता भट्टराईकी पत्नी एवं नेत्री हिसिला सभासद् हुँदा सरकारी सुविधा पाउने स्वकीय सचिवमा जानुकालाई नियुक्त गरिएको थियो। सशस्त्र विद्रोह गर्दै सत्तामा पुगेको शक्ति एमाओवादीलाई झुकाएर अनशनमार्फत द्वन्द्वकालीन घटनाका एकजना अभियुक्त पक्राउ गराउन सफल भए पनि अधिकारी परिवार सन्तुष्ट छैन। अरू पनि अभियुक्त पक्राउ गर्न दबाब दिँदै आएका अधिकारी दम्पतीले आमरण अनशन तोड्ने बेलामा एक सातामा पनि सरकारले थप कारबाही अघि नबढाए फेरि अनशन सुरु गर्ने बताएका थिए। बाबुआमाले अनशन तोडेपछि नूरप्रसाद भने हत्याका थप आरोपित पक्राउका लागि प्रहरीलाई सहयोग गर्न भन्दै चितवन पुगेका छन्।
मानवअधिकारकर्मी सुबोध प्याकुरेलले अहिलेसम्म प्रहरी प्रशासनको गतिविधि हेर्दा हत्यामा प्रत्यक्ष संलग्न व्यक्तिको गिरफ्तारीमा लाग्न सकेको जस्तो नदेखिने बताए। एमाओवादीले यो प्रकरणमा थप कारबाही अघि बढाए उच्च पदस्थ सुरक्षाकर्मीका मुद्दा पनि उचाल्ने धम्की दिएको छ। एमाओवादी धम्की प्रहरी प्रमुख रानाप्रति लक्षित छ। उनी जनकपुरमा प्रहरी प्रमुख भएका बेला हिरासतमा रहेका पाँचजनाको हत्या भएको मुद्दा टुंगोमा पुगेको छैन।