काठमाडौंमा भारतीय फौजको सर्च

Posted: August 30, 2013 in By Deepak Kharel

Hyderabad_Wanted (2)

दीपक खरेल

नेपालको अस्थिर राजनीतिक वातावरणको फाइदा उठाउँदै भारतीय सुरक्षा निकायले काठमाडौंमा आफ्नो मुलुकका अपराधी खोज्‍ने अभियान चलाएको खुलासा भएको छ।

नेपाल प्रहरीको उच्‍च तहको सहयोगमा विगत दुई सातादेखि भारतको इन्टेलिजेन्स ब्युरो (आईबी), रिसर्च एन्ड एनालाइसिस विंग (रअ) र दिल्ली पुलिसका छुट्टाछुट्टै टोली काठमाडौंमा परिचालित छन्।

स्रोतका अनुसार यी टोली हैदराबाद आक्रमणका मुख्य आरोपी यासिन भट्काल, तहसिम अख्तर वसिम उर्फ मोनु, असदुल्लाह अख्तर जावेद उर्फ हड्डी र बकास उर्फ अहमदको खोजीमा काठमाडौं र आसपासका संभाव्य क्षेत्रमा सादा पोसाकमा खटिएका हुन्।

उच्‍च प्रहरी अधिकृतका अनुसार भारतीय कुख्यात अपराधी यासिन भाट्कल उर्फ मोहम्मद जरारं सिद्दिवाप्पालाई मंगलबार पक्राउ गरिएको थियो। भारतका विभिन्न नरसंहारकारी घटनाका अभियुक्त सैयद अब्दुल करिम ‘टुन्डा’ लाई ११ अगस्टमा नेपालमा पक्राउ गरी नयाँदिल्ली पुर्‍याइएपछि भारतीय मुजाहिद्दिनका मुख्य व्यक्ति यासिन भट्काल र हड्डी समातिएका हुन्। टुन्डालाई नेपाल-भारत सीमा क्षेत्रमा पक्राउ गरिएको भन्दै सार्वजनिक भएपछि नेपालमा भारतीय फौजको गोप्य अपरेसन चलाइएको भारतीय अखबारहरूले जनाएका छन्।

टाइम्स अफ इन्डियाले भदौ १३ गतेको अनलाइन संस्करणमा ‘मोस्ट वान्टेड’ भट्काललाई पक्राउ गर्न भारतीय सुरक्षा निकायले नेपाल-भारत सीमा क्षेत्रमा स्टेसन नै राखेको उल्लेख छ। भारतीय सुरक्षा निकायले पाकिस्तानी आतंकवादी संगठन लस्कर ए तोएवा र जैस ए मोहम्मदसँग सम्बन्ध रहेको भन्दै भट्काललाई पक्राउ गर्न दुई वर्षदेखि नेपाल प्रहरीसँग आग्रह गर्दै आएको थियो।

टुन्डालाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको सुरक्षा स्रोतले बतायो। पाकिस्तानबाट आएका उनलाई विमानस्थलबाट पक्राउ गरी आकाशमार्गबाटै सीमा क्षेत्रमा लगिएको थियो। नेपाल प्रहरीको उच्‍च तहलाई पक्राउबारे जानकारी भए पनि बर्दीधारी प्रहरीको प्रयोगबिनै उनलाई भारत लगिएको बताइएको छ। भारतीय प्रहरीले भने अगस्ट १६ मा उनलाई पक्राउ गरिएको बताएको थियो। उक्त मितिमा भारतीय सुरक्षा निकायले नेपाल प्रहरीको सहयोगमा सन्तोष झा गिरोहका सार्प सुटर चिरञ्‍जीवी सागर कुसवाह र विकास झालाई इमाडोलबाट पक्राउ गरेका थिए।

नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले टुन्डा र भट्कालको पक्राउमा नेपाल प्रहरीको कुनै भूमिका नरहेको बताए। उनले नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभए पनि ‘क्रस बोर्डर क्राइम’ रोक्‍ने सम्झौताअनुसार बेलाबेलामा अपराधी हस्तान्तरण भइरहेको बताए। ‘भारतले त्यहाँ आश्रय लिएका नेपाली अपराधी र नेपाल प्रहरीले यहाँ लुकेर बसेका भारतीय अपराधीलाई पक्राउ गरेर बुझाउँदै आएका छन्। तर टुन्डा र भट्कालका विषयमा नेपाल प्रहरीलाई कुनै जानकारी छैन’, सिलवालले अन्नपूर्णसँग भने।

को हुन् यासिन र टुन्डा?
आतंकवादी संगठन इन्डियन मुजाहिद्दिन (धार्मिक लडाकु) को संस्थापकमध्येका एक हुन् यासिन भट्काल। सन् २००८ मा दिल्लीमा भएको शृंखलाबद्ध बम विस्फोटको मुख्य योजनाकार भट्काल रहेको पत्ता लागेपछि भारतको नेसनल इन्टेलिजेन्स एजेन्सीले उनीबारे सूचना दिनेलाई १० लाख भारु पुरस्कार दिने घोषणा गरेको थियो।
पुनेस्थित जर्मन बेकरीमा सन् २०१० मा भएको बम विस्फोटमा समेत भट्काल संलग्‍न भएको सीसीटीभी फुटेजमा देखिएको थियो। उक्त घटनामा १७ जनाले ज्यान गुमाएका थिए।

भट्काल २१ वर्षकै उमेरमा कुख्यात आतंकवादी आमिर रजां खानको दाहिने हात बनेका थिए। खानसँगै सन् २००४ बाट उनले भारतका विभिन्न सहरमा आतंककारी आक्रमण गर्न थालेका हुन्। खानसँग मिलेर भट्कालले सन् २००८ मा इन्डियन मुजहिद्दिन स्थापना गरेर धार्मिक लडाकुको दस्ता निर्माणमा सक्रियता देखाएका थिए।

सन् २००६ मा मुम्बईमा रेलमा भएको शृंखलाबद्ध बम विस्फोटमा पनि उनको संलग्‍नता पुष्टि भएको थियो। उक्त घटनामा दुई सय ९ जनाले ज्यान गुमाएका थिए।
सन् २००९ नोभेम्बरमा पक्राउ परेका भट्काल आफू मोहमद असर्रफ भएको प्रमाण पेस गरेर धरौटीमा रिहा भएका थिए। दिल्ली प्रहरीले गत फेब्रुअरीमा भट्कालबारे सूचना दिनेलाई १५ लाख भारु पुरस्कार दिने घोषणा गरेको थियो। उनी कर्नाटक राज्यको भट्काल गाउँका स्थायी बासिन्दा हुन्।

दिल्ली प्रहरीको आधिकारिक वेबसाइटका अनुसार भारतका विभिन्न सहरमा भएका ३२ वटाभन्दा बढी बम विस्फोटका घटनामा टुन्डाको प्रत्यक्ष संलग्‍नता थियो। भारतीय प्रहरीले मोस्ट वान्टेड भनी जारी गरेको २० आतंकवादीको सूचीका टुन्डा पनि एक हुन्। ४० वर्षको उमेरबाट धार्मिक लडाकुका रूपमा काम गर्दै आएका सैयद अब्दुल करिम बम बनाउने क्रममा हात गुमेपछि टुन्डा उपनामले चिनिन थालेका हुन्। मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटपछि टुन्डालाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी तीव्र पारिएको थियो। उत्तरप्रदेशका टुन्डा हाल ७० वर्षका भइसकेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s